काठमाडौँ । नेपालको अनलाइन व्यापारमा नयाँ प्लेटफर्मको रुपमा स्टप ग्र्याब डटकम सार्वजनिक गरिएको छ । स्टप ग्य्राब प्रा.लि.ले करिव डेढ वर्षको गृहकार्य पश्चात ग्राहकहरुको सुविधालाई ध्यानमा राखी विभिन्न ५ सय विक्रेताहरुको भिन्नाभिन्नै सामग्री अनलाइनमा राखेर नयाँ शुरुवात गरेको बताएको छ ।
ग्राहक तथा विक्रेताले सर्वसुलभ तरिकाले खरिद विक्री गर्न सकुन् भन्ने मुख्य उद्देश्यले सार्वजनिक गरिएकोे उक्त अनलाइनबाट बजारमा व्याप्त बिचौलिया तथा मोलमोलाइको समस्याबाट सर्वसाधारणले छुट्कारा पाउने विश्वास कम्पनीले राखेको छ । उक्त अनलाइन प्लेटफर्ममा लत्ताकपडा, घर सजावटका सामग्री, ग्रोसरीज, कस्मेटिक्स तथा विभिन्न किसिमका गुणस्तरीय सामग्रीहरु सुपथ मूल्यमा उपलब्ध गराइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार झाले जानकारी दिएका छन् ।
कम्पनीको वेभसाइटमा राखिएका हजारौँ सामानमा विशेष छुट तथा उपहार राखिएको छ । दशैंको अवसर पारेर प्रिपेड भुक्तानी गर्ने १० जना भाग्यमानी ग्राहकका लागि उपहारस्वरुप शतप्रतिशत रकम फिर्ता गर्ने स्किम पनि ल्याइएको कम्पनीले जनाएको छ ।
अर्डरपश्चातको भुक्तानी प्रक्रिया सर्वसुलभ बनाइएको छ भने छिटो समयमै होम डेलिभरी गर्ने व्यवस्था मिलाइएको छ । खरिद गरेको सामान होम डेलिभरी गर्दा फरक परे ७ दिनभित्र फिर्ता गर्न सकिने सुविधा ग्राहकलाई दिइएको छ ।
निकट भविष्यमा नै नेपालभर ५ सयभन्दा बढी जनशक्ति परिचालन गरि भारत, चीन, श्रीलंका, मलेसिया, सिंगापुर, अमेरिका, अष्ट्रेलिया तथा यूरोपेली मुलुकहरुमा समेत संजाल विस्तार गर्ने र नेपाली सामानको कारोबार अन्तर्राष्ट्रिय बजारमा पुर्याउने लक्ष्य राखिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्ताेषकुमार झाले बताए ।