माल्टा, पोल्याण्ड र पोर्चुगलमा राजदूतावास स्थापना गर्न एनआरएनए यूरोपको माग

शेरबहादुर परियार

यूरोप । एनआरएनए यूरोपले माल्टा, पोल्याण्ड र पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न माग गरेको छ । एनआरएनएको १३ औँ यूरोप बैठक, ११ औँ यूरोपेली महिला भेला र युवा सम्मेलनपछि जारी गरिएको १८ बुँदे घोषणापत्रमा नेपालीहरुको बढ्दो संख्यालाई ध्यानमा राखी ती मुलुकहरूमा राजदूताबासको स्थापना गर्न माग गरिएको हो ।

अक्टाेबर ३ र ४ तारिख आयाेजना गरिएकाे बैठकले यूरोपले एक अल्पविकसित मुलुकका रुपमा नेपाललाई सहुलियतपूर्ण निर्यात गर्ने सुविधा दिएको भए पनि त्यसको पर्याप्त उपयोग गर्न नसकिएको भन्दै एनआरएनएले नेपालका हस्तकला, पश्मिना, चिया, कफीलगायतका उत्पादनहरुको निर्यात यूरोपेली बजारमा वृद्धि गर्न विशेष भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भई संसदमा विचाराधीन अवस्थामा रहेको ‘गैर आवासीय नेपाली नागरिकतासम्बन्धी ऐन’ लाई “एक पटकको नेपाली सधैँको नेपाली” भन्ने मूलमन्त्रलाई चरितार्थ गर्ने गरी भावी सन्ततिलाई पनि नेपालसँग जोड्ने प्रावधानसहित यथाशीघ्र पारित गर्न सबै सांसद तथा प्रमुख राजनीतिक दलहरुलाई बैठकले आह्वान गरेको छ ।

त्यसैगरी नेपाल पर्यटन बोर्ड र नेपाल सरकारले अगाडि सारेको ‘पर्यटन पुनरुत्थान रणनीति’ अनुसार नेपालमा पर्यटन क्षेत्रको पुनरुत्थानका लागि एउटा भरपर्दो साझेदारको रुपमा काम गर्न गैरआवासीय नेपाली संघ तत्पर रहेको बताउँदै बैठकले उक्त रणनीतिमा आन्तरिक पर्यटनसँगै एनआरएन पर्यटनको विषयलाई पनि अझ स्पष्टरुपमा उल्लेख गर्न अनुरोध गरेको छ ।

घोषणापत्रमा विगत केही वर्षदेखि युरोपले नेपालका वायु सेवा कम्पनीहरुलाई युरोपको आकाशमा उड्नमा प्रतिबन्ध लगाइरहेकोमा यथाशिघ्र सो प्रतिबन्ध हटाइ युरोपेली आकाश खुला गर्न हाल भैरहेका कूटनीतिक प्रयासलाई तीव्र पार्न नेपाल सरकारलाई आग्रह गरिएको छ ।

नेपालकाे कला र संस्कृितकाे संरक्षणका लागि हाल विदेशमा हुर्किरहेका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा, लिपि, संस्कार र संस्कृति सिकाउने कार्यलाई अरु विस्तारित र संस्थागत गर्न बैठकले नेपाल सरकारसँग अपील गरेको छ ।

कोभिड–१९को महामारीको ६ महिना बितिसक्दा पनि खाडी, मलेसियालगायतका मुलुकमा रोजगारी गुमाएका लाखौं नेपाली नेपाल फर्कन नपाएर अलपत्र परेकोतर्फ संकेत गर्दैै बैठकले भनेको छ, “खासगरी महिला, बिरामी, अशक्त, आर्थिक अभाव बेहोरी रहनुभएका नेपालीहरुलाई निःशुल्क उडानको व्यवस्था मिलाउन तथा नेपालीहरुका प्रमुख चाड दशैं, तिहारअगावै अलपत्र परेका नेपालीहरुलाई नेपाल फर्काउने योजना सार्वजनिक गर्न यो बैठक नेपाल सरकारसँग आग्रह गर्दछ ।”

कोभिड–१९ का कारण रोजगारी गुमाएर नेपाल फर्केका र फर्कने अनुमान गरिएका झन्डै ५ लाख नेपालीहरुलाई नेपालमै रोजगारी दिलाउन सघाउनका लागि नेपालका सरकारी निकायहरु तथा निजी क्षेत्र समेतसँग सहकार्य गरी बृहत् अभियान सञ्चालन गर्न एनआरएन केन्द्रलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

र, याे पनि पढ्नुहाेस्- एनआरएनएको १३औँ युरोप बैठक १८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न (घोषणापत्रकाे पूर्ण पाठसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *