जर्मन एकीकरणको तीस वर्ष पूरा

  • 5
    Shares

जर्मनीले कोरोनाभाइरस महामारीबीच संक्षिप्त कार्यक्रम गरी दुई जर्मनीबीचको पुनर्मिलनको उत्सव मनाएको छ । बर्लिनबाट करिब २५ किलोमिटर दक्षिण पश्चिममा पर्ने पोट्सड्याम शहरमा आयोजित समारोहमा राष्ट्रपति फ्रान्क–वाल्टर स्टेनमेयर र चान्सलर एन्जेला मर्केल सहभागी थिइन् ।

दोस्रो विश्वयुद्ध पश्चात् शीतयुद्धका चार दशकसम्म अलग रहेका पूर्वी र पश्चिम जर्मनी सन् १९९० मा एकीकृत भएका थिए । शीतयुद्धको अन्त्य र नयाँ युगको आरम्भका दिनहरु आज पुनः स्मरण गरेको स्टेनमेयरले बताए । स्टेनमेयरले जर्मनी विगत ३० बर्षको अवधिमा पुनर्मिलन र आप्रवासनका कारण धेरै विविधतापूर्ण भएको बताए ।

उनले क्षेत्र र धर्मका मतभिन्नतालाई परित्याग गरेर अझ सुदृढ एकताका लागि आह्वान गरे । कार्यक्रममा चान्सलर मर्केलले जर्मनीका प्रत्येक नागरिकले विशिष्ट साहस र उत्साहका साथ अघि बढ्नुपर्ने समय आएको बताए ।

यसैबीच, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले पुनर्मिलनका अवसरमा ट्वीट गर्दै जर्मन जनतालाई बधाई दिएका छन् । अमेरिका र तत्कालीन सोभियत संघबीच दशकौं लामो शीतयुद्धको अवधिमा जर्मनी पूर्वी (जर्मनी) र पश्चिम (जर्मनी) का रुपमा विभाजित थियो ।

तर सन् १९८९ नोभेम्बर ९ मा जनताले बर्लिन पर्खाल ढालेसँगै दुई जर्मनीबीच पुनर्मिलनको बाटो खुला भएको थियो । त्यसपछि सन् १९९० अक्टोबर ३ मा जर्मन पुनर्मिलन सन्धिमा हस्ताक्षर भएको थियो । त्यसबेलादेखि, जर्मन एकता दिवसलाई देशको राष्ट्रिय विदाको रूपमा मनाइन्छ ।


  • 5
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *