मध्यपहाडी लोकमार्गको पर्वत खण्डको काम शुरु

  • 5
    Shares

पर्वत ।कोरोना महामारीपछि रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डको निर्माण कार्य शुरु भएको छ ।
गत चैत्कोत दोस्रो साता रोकिएको निर्माण कार्य असोजको दोस्रो सातादेखि शुरु भएको हो । पर्वत खण्डको निर्माण जिम्मा लिएको लामा कन्स्ट्रक्सन कम्पनीले वर्षा रोकिएसँगै काम थालेको हो ।
भदौमा म्याद सकिने भएपनि अहिलेसम्म ६० प्रतिशत काम सकिएको छ ।

“लकडाउनले रोकिए पनि अब काम तीब्र रुपमा अघि बढ्छ”, निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले भने – घाम लागेका कारण दशैपछि कालोपत्रेको काम पनि थाल्छौ । निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वत प्रवेशद्वारदेखि मालढुङ्गासम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरोन्नतिको कम्पनीले ८३ करोड ९८ लाख ठेक्का लिएको हो । पर्वत खण्डको २३ किलोमिटर मध्ये संरचनागत काम ९५ प्रतिशत सकिएको छ । बागलुङको सीमाना मालढुङ्गादेखि नयाँपुल सम्म करिब ५ किलोमिटर कालोपत्रे गरिएको छ ।

बाढीपहिराले त्यो खण्डका केही ठाउँमा सडक बिग्रेकाले पुनः कालोपत्रे गर्नुपर्नेछ । अहिले बाँकी स्ट्रक्चरको काम र बेस राखेको ठाउँमा वर्षाले बिग्रेको खण्ड सक्छौ, प्रोजेक्ट म्यानेजर भुसालले भने–बाँकी यसै आर्थिक वर्षमा सक्ने तयारी छ पहिले जस्तो विभिन्न कारणले काम नरोकिने उनको भनाइ थियो ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापा मगरले काम शुरु गरेको व्यवस्थापनलाई सहयोग गर्न थप जनशक्ति तथा स्रोत साधन परिचालित भएकाले असारसम्ममा काम सकिने विश्वास व्यक्त गरे । उनले निर्माण व्यवसायीले असारसम्मको म्याद मागेकाले समयमा कालोपत्रेको सक्ने जानकारी दिए ।
रोकिएको काम शुरु भएपछि लोकमार्गको पर्वत खण्डमा पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी सहितको टोलीले अनुगमन गरेको छ । उनले स्थानीयस्तरमा देखिने समस्यालाई सहजीकरण गर्न प्रशासन तयार रहेको बताउँदै काम छिटो र गुणस्तरीय बनाउन आग्रह गरे।

कुस्माको सडक चार लेन

मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ खण्ड स्तरोन्नतिका क्रममा पर्वतको कुस्माबजार खण्डको सडक चार लेनको बन्ने भएको छ ।
कुस्माको खरेहा देखि डम्डारेखोला सम्मको झण्डै दुई किलोमिटर चार लेनको बन्ने आयोजना प्रमुख आशिष थापा मगरले बताए । पहिले दुई लेनकै बनाउने योजना भएपनि अहिले चार लेनको रुपमा स्तरोन्नति हुन लागेको हो । त्यसका लागि आवश्यक सबै तयारी सकिएकाले चार लेनको सडक बन्ने कुरा पक्का भएको उनको भनाइ थियो । आयोजनाले ७२ किलोमिटर पोखरा बागलुङ खण्डलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मत सम्भार तीब्र पारिरहेको छ ।


  • 5
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *