साढे सात किलो अफिमसहित कपिलवस्तुबाट दुई जना पक्राउ

कपिलवस्तु । कपिलवस्तु प्रहरीले साढे सात किलो अफिमसहित एक महिला र एक पुरुष अटोचालकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले जाँचका क्रममा मङ्गलबार राति कृष्णनगर नगरपालिका वडा नम्बर दुईको चेक प्वाइन्टबाट ती महिला र पुरुषलाई अफिमसहित पक्राउ गरेको हो ।

प्रहरीले चन्द्रौटाबाट कृष्णनगरतर्फ आएको लु १ह १५७ नम्बरको अटोमा सवार रोल्पाको कुलेरी गाउँपालिका–१ कुरेली बस्ने ४९ वर्षीया सीता रोकालाई शङ्का लागि जाँच गर्दा उनको झोलाबाट साढे सात किलो अफिम बरामद गरेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

चालकको सिट पछाडि अटोमा बसेकी उनले हातमा छोपेको लेडिज ब्यागमा दुई केजी र पछाडि राखेको रेग्जिनको झोलामा रहेको साढे पाँच केजी गरी उक्त परिमाणको अफिम भेटिएको हो ।

पक्राउ परेकी महिला रोकासँगै प्रहरीले अटोचालक कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ का २० वर्षीय सुशील क्षेत्रीलाई पनि नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ । प्रहरीले बरामद गरेको अफिम भारत पुर्याएपछिको अन्तर्राष्ट्रिय बजार मूल्य एक करोड भन्दा बढी पर्ने बताइन्छ ।

यसअघि असोज ७ गते पनि कृष्णनगर नगरपालिकाको वडा नम्बर २ स्थित कृष्णनगर बसपार्कबाट शङ्कास्पदरूपमा भारततर्फ जाँदै गरेका दुई महिलालाई ३७ किलो चरेससहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *