बाँकेमा दुई र मोरङमा थप एक जना कोरोना संक्रमितको मृत्यु

  • 1
    Share

नेपालगंज । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका वडा नम्बर १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिएका छन् ।

नेपालगंजका मृतक नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन् । उनका अनुसार दुवैजनालाई प्लाज्मा थेरापी र रेम्डिसिभिरबाट उपचार भइरहेको थियो ।

त्यसैगरी, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार बिहान एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ, सुनवर्षी नगरपालिका–७ की ६८ वर्षीया महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए ।

उनलाई यही असोज १० गते बिहान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको नोबल मेडिकल कलेजले प्रतिष्ठानमा रेफर गरेको प्रवक्ता सापकोटाले बताए ।

उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेका बेला आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई असोज ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यससँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । सोमबार पनि धरान–२ की एक ३८ वर्षीया महिलाको प्रतिष्ठानमा कोरोनाले मृत्यु भएको थियो ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *