पोल्याण्डका नेपाली व्यवसायी संगठित


शेरबहादुर परियार

पोल्याण्ड । पोल्याण्डमा रहेका नेपाली मूलका व्यवसायी, उद्यमी, पेशाकर्मी तथा स्वरोजगारहरुलाई संगठित गर्दै नेपाली व्यवसायी संघ पोल्याण्डको गठन गरिएको छ ।

पोल्याण्डका लागि नेपाली पर्यटनदूत तथा व्यवसायी डा उदयदेव आचार्यको अध्यक्षतामा गठन गरिएको व्यवसायी संघको उपाध्यक्षमा रीता न्यौपाने, सचिवमा आनन्द घिमिरे तथा सदस्यहरूमा नरेश सापकोटा, अमितकुमार यादव, अनुपा रेग्मी र राजेश कार्की रहेका छन् । त्यसैगरी लेखा समितिमा टंक कटुवाल, मित्रलाल पार्दे र अक्षय रिजाल चयन भएका छन् । १७ जना संस्थापक सदस्यहरु रहेको व्यवसायी संघमा जीवन केसी, गणेश थापा, प्रेमलाल गैरे, ईश्वर देवकोटा, शेरबहादुर परियार, प्रकाश तिवारी र रामचन्द्र न्यौपाने साधारण सदस्य रहेका छन् ।

नेपालीहरुको प्रतिनिधिमूलक संस्थाको रुपमा विकसित गर्दै व्यवसायी संघलाई नेपाल र पोलिशबीचको सहयोग र आदानप्रदानको सेतु बनाइने छ । अध्यक्ष डा आचार्यले पोल्याण्डमा रहेका नेपाली व्यवसायीहरुबीच सामुहिक सहयोग आदनप्रदान गर्ने, नेपालमा पोलिश लगानी भित्र्याउन संस्थागत पहल गर्ने संस्थाकाे याेजना रहेकाे बताए । उनले भने, “दुबै देशको उद्यमीहरुको सहभागितामा संयुक्त लगानीको परियोजनाहरु अभिवृद्धि गर्ने, पोलिश जनतालाई लक्षित गरी नेपालको पर्यटकीय आकर्षण र गन्तव्यको प्रचारप्रसार गरी नेपाल भ्रमणका लागि प्रोत्साहन गर्ने, नेपालको वैदेशिक व्यापार प्रवर्द्धन गर्ने, पोलिश–नेपाल वाणिज्य कार्यलयको स्थापना गरी दुबै देशका व्यवसायी, संघसंस्था र जनस्तरमा छलफल एवम् अन्तर्क्रियालगायतका कार्यक्रमहरु गर्ने प्रारम्भिक कार्ययोजना रहेको छ ।”

पछिल्ला केही महिनादेखि हामीबीचको निरन्तरको छलफल तथा सकरात्मक प्रयासले त्यहाँ रहेका नेपालीहरू संगठित हुने निष्कर्षमा पुगेको सचिव आनन्द घिमिरेले बताए । “पोलिस सरकारको कानूनअनुसारको दर्ता प्रक्रियाको सम्पूर्ण तयारी पुरा गरिसकेका छौं,” सचिव घिमिरे भने, “अब केही दिनमा नै दर्ताको काम पुरा हुने छ ।”

पछिल्लो समय युरोपेली मुलुक पोल्याण्ड नेपालीहरुको आकर्षक गन्तव्य रहँदै आएको छ । पोल्याण्डमा रहेका नेपाली मूलका व्यापारीहरू रेस्टुरेन्ट, होस्टेल, कन्सल्टेन्सी, अनलाइन व्यवसाय, ईकमर्स, खाद्यान्न बिक्रीलगायतका व्यवसायमा संलग्न छन् । कोभिड–१९ को महामारीले कारण पोल्याण्डमा नेपाली व्यवसायीहरु ठूलो असर पारे पनि हाल केही सकरात्मक संकेतहरु देखिन थालेको सचिव घिमिरेले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *