ट्रम्पमाथि कर छलीको आरोप

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ मा सङ्घीय आयकर बापत जम्मा सातसय पचास डलर अर्थात् झण्डै ९० हजार नेपाली रूपैयाँ मात्र तिरेको पाइएको छ ।

द न्यू योर्क टाइम्स पत्रिकाका अनुसार उनले जम्मा ७५० डलर मात्र कर तिरेका हुन् । उनी त्यसबेला राष्ट्रपतीय उम्मेदवार बनेका थिए र विजयी भएर ह्वाइट हाउसमा पहिलो वर्ष विताएका थिए । डोनल्ड ट्रम्प र उनको कम्पनीहरूका दुई दशक अवधिको कर सम्बन्धी अभिलेखहरू प्राप्त गरेको बताउने न्यू योर्क टाइम्सले उनले विगत १५ वर्षमध्ये १० वर्ष कत्ति पनि आयकर नतिरेको आरोप पनि लगाएको छ ।

उक्त पत्रिकाका अनुसार ती कर अभिलेखले निरन्तरको घाटा र वर्षौँको कर छली लाई उजागर गर्दछन् । डोनल्ड ट्रम्पले उक्त समाचारलाई मिथ्या समाचार भनेका छन् । न्यूयोर्क टाइम्समा समाचार प्रकाशित भएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले कर तिरेको तर कर भुक्तानी विवरणहरू लामो समयदेखि अडिटमा रहेको बताएका छन् ।

डोनल्ड ट्रम्पले उनको सम्पत्ति र व्यापारिक कारोबारसँग सम्बन्धित दस्तावेजहरू सार्वजनिक गर्ने विषयमा विभिन्न कानुनी चुनौतीहरूको सामना गरेका छन् । न्यूयोर्क टाइम्सले उसको समाचारमा भएका सूचना तथा जानकारीहरू कानुनी रूपमा नै त्यस्ता जानकारीमा पहुँच भएका स्रोतहरूबाट प्राप्त भएको जनाएको छ ।

न्यू योर्क टाइम्सले भनेको छ उसले राष्ट्रपति ट्रम्प र ट्रम्प अर्गनाइजेशनको स्वामित्वमा रहेका कम्पनीहरूको सन् १९९० को दशक देखिका कर भुक्तानी विवरण र सन् २०१६ र २०१७ को राष्ट्रपतिका निजी कर विवरणहरूको अनुसन्धान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *