- 4Shares
प्रज्जवल थापा ।
स्टार खेलाडी क्रिस्ट्यानो रोनाल्डोको दुई गोलको मद्दतमा सिरी ए मा युभेन्टसले रोमासँग बराबरी खेलेको छ । आइतबार भएको खेलमा युभेन्टस रोमासँग २-२ को बराबरी खेलेको हो ।
स्टेडियो ओलम्पिकोमा भएको खेलमा घरेलु टोलीको लागि जोर्डान भेरेटाउटले दुई गोल गर्दा युभेन्टसको लागि क्रिस्ट्यानो रोनाल्डोले दुई गोल गरे । घरेलु टोलीले खेलमा सुरुवाती अग्रता लिएको थियो।
भेरेटाउटले हानेको बल युभेन्टसका राबियोटले पेनाल्टी क्षेत्रमा हातले छोएपछि पाएको पेनाल्टीमा गोल गर्दै भेरेटाउटले रोमालाई खेलमा अगाडि बढाएका थिए । ४४ औ मिनेटमा रोनाल्डोले हानेको बल पेलेग्रेनीले हातले रोकेपछि युभेन्टसले पेनाल्टी पाएको थियो ।
रोनाल्डोले कुनै गल्ती नगरी गोल गर्दै युभेन्टसलाई १-१ को स्थितिमा ल्याएका थिए । तर पहिलो हाफको अतिरिक्त समयमा रोमाले काउन्टर अट्याकमा गोल गर्दै खेलमा फेरि अग्रता लिएको थियो । मिकिटिरियानको पासमा भेरेटाउले व्यक्तिगत दोस्रो गोल गरेका थिए ।
खेलको ६२ औं मिनेटमा राबियटले फउल गरेपछि दुई पहेंलो कार्ड खाएर मैदान बाहिरिएपछि युभेन्टस १० खेलाडीमा सीमित भएको थियो । ६९ औ मिनेटमा डेनिल्लोको पासमा रोनाल्डोले व्यक्तिगत गोल गर्दै युभेन्टसलाई बराबरीमा ल्याएका थिए । दुवै टोलीले खेलमा अवसर पाएपनि गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको थियो ।


- 4Shares