सिन्धुपाल्चाेकमा तीन ठाउँमा पहिराेः कम्तिमा १८ घर पुरिए, ६ जनाकाे शव निकालियाे, दुइर्काे सनाखत (फाेटाेफिचर)

सिन्धुपाल्चाेक । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजे र भीरखर्कमा गए राति खसेको पहिरोले कम्तीमा १८ घर पुरिएका छन् भने ६ जनाकाे मृत्यु भएकाे छ । दुइ जना घाइतेकाे स्थानीय अस्पतालमा उपचार भइरहेकाे छ । अझै २० जना बेपत्ता छन् । 

दुई ठाउँमा गएको पहिरोमा परि ज्यान गुमाएका ६ जनामध्ये २ जनाको परिचय खुलेको छ । घुम्थाङ नागपुजेमा गएको पहिरोमा पुरिएकी ६३ वर्षीया भक्तिमाया श्रेष्ठ र भीरखर्कको बिक टोलमा पहिरोमा पुरिएकी २० वर्षीया जुनु बिकको मात्रै परिचय खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

यसअघि भीरखर्ककाे पहिराेबाट तीन जनाकाे शव निकालिएकाे र कम्तीमा १० घर पुरिएका बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशील पाख्रिनले जानकारी दिएकी थिइन् । “गएराति भीरखर्कबाट पहिरो सुरु भएको हो । भीरखर्कका १० घर बगाएको र ३ जनाको शव भेटिएको छ । तल नागपुगेमा पनि ८ घर बगाएको छ । १५ जनाभन्दा बढी बेपत्ता छन् । नसोचेको ठाउँमा पहिरो गएकाले यति नै क्षति भयो भन्ने अवस्था छैन,” उनले भनिन् ।

त्यस्तै जुगल गाउँपालिका–५ चनौटेमा पहिरो जाँदा केही घरहरु पुरिएका छन् । त्यहाँ मानवीय क्षति नभएको बताइएको छ ।

घटना थाहा हुनेबित्तिकै प्रहरी घटनास्थलतर्फ लागेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । सभामुख अग्निप्रसाद सापकोटा काठमाडाैँबाट घटनास्थलतर्फ गइरहेका छन् । सभामुख सापकोटा त्यसतर्फ प्रस्थान गरिसकेकाे सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको पनि न्याैपानेले बताए ।

नागपुजेकाे पहिराेकाे फाेटाहरू

फाेटाेः बजिरसिंह भण्डारीकाे फेसबुकबाट

केही हप्ताअघि सिन्धुपाल्चोककै जुगल गाउँपालिका–२ लिदीमा पनि पहिरो गएको थियो । उक्त पहिरोमा ३६ जनाको मृत्यु भएको थियो । २ जना अझै वेपत्ता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *