सुन्दरीजलदेखि बानेश्वरसम्मको नदी किनारमा गुर्जो रोपिने

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न रोग प्रतिरोधी क्षमता विकास गर्ने बहुपयोगी आयुर्वेदिक वनस्पति गुर्जो रोप्ने क्रम बढ्न थालेको छ । अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको कार्यालय रहेको गुह्येश्वरी परिसरमा शनिबार १५० वटा गुर्जोको बिरुवा रोपिएको छ ।

गुर्जो रोपण कार्यक्रममा सांसद कृष्ण राई, पूर्व मुख्यसचिव लीलामणि पौडेललगायत वागमती सफाइ अभियानकर्मी पनि सहभागी भएका थिए । आन्तरिक राजश्व कार्यालय लाहानका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले अधिकारसम्पन्न वागमतीको कार्यालयमा बिरुवा उपलब्ध गराएका हुन् ।

सुन्दरीजलदेखि बानेश्वरसम्मको नदी किनारका बस्तीमा गुर्जोरोपण गरिने समितिले जनाएको छ ।
सांसद कृष्ण राईले नेपालमा आयुर्वेद औषधीको रुपमा प्रयोग हुने वनस्पतीको रोपणलाई प्रोत्साहन गर्न गुर्जो रोपण कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

मानिसको रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्न गुर्जोको प्रयोग बढेकाले यसलाई व्यापकता प्रदान गर्नुपर्ने उनले बताए । गुर्जोले मानव शरीरमा रोग प्रतिरोधी क्षमताको विकास, शारीरिक क्षमतामा बढोत्तरी गर्नाका साथै शरीरभित्र जमेका विकारलाई बाहिर निकाली मानिसलाई स्वस्थ बनाउने बनस्पतीबिज्ञहरुले बताउदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *