काठमाडौँ । अरुणाचल प्रदेशको चीनसँगको सीमा क्षेत्रबाट अपहरणमा परेको भनिएका पाँच भारतीय नागरिकलाई चिनियाँ जनमुक्ति सेनाले मुक्त गरेकाे छ । भारतीय संचारमाध्यमका अनुसार हाल उनीहरुलाई भारतीय सेना समक्ष बुझाइएको छ । उनीहरुलाई १४ दिन क्वारेन्टिनमा राख्ने तयारी गरिएको छ ।
अरुणाञ्चल प्रदेशको सुबनसिरी जिल्लाका पाँच जना शिकार खेल्न नजिकैको जंगल गएका बेला चिनियाँ सेनाले अपहरण गरेको लगेको अरूणाचल टाइम्सले जनाएको थियो । सँगै गएका अन्य दुई जना अपहरणबाट उम्किन सफल भइ घटनाबारे गाउँलेलाई जानकारी दिएका थिए ।
हाल तनु बकर, प्रसत रिङलिङ, नागरु दिरी, दोङ्तु इबिया र तोच सिंगकाम नाम गरेका भारतीयलाई चिनियाँ सेनाले छाडेका हुन् ।
पाँचै जना भारतीय जासुस हुन्ः चीन
अपहरणमा परेका भनिएका पाँचै जनालाई चीनले ‘भारतीय जासुस’ भएकाे बताएकाे छ । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले ती ५ जना जासुस भएको र उनीहरुलाई ‘प्रशिक्षित गरी पठाइएको’ दावी गरेको छ । ग्लोबल टाइम्सले सूत्रको हवाला दिँदै भनेको छ, ‘अपहरणमा परेका ५ जना भारतीय इन्टेलिजेन्सका स्टाफ हुन् जसले आफूलाई शिकारी बताइरहेका थिए ।’ ग्लोबल टाइम्सका अनुसार यी ५ जनाले सीमा पार गरेर चीनको तिब्बती क्षेत्र पुगेका थिए । अखबारले भारतीय पक्षले बेलाबेला चीनको बारेमा सूचना हासिल गर्नको लागि यस्ता उपाय अपनाउने गरेकाे पनि बताएको छ ।
यसै साता रुसमा भारत र चीनका विदेशमन्त्री र रक्षामन्त्रीस्तरीय छुट्टाछुट्टै वार्ता सकारात्मक भएपछि चिनियाँ सेनाले भारतीय नागरिक छोडिदिएका हुन् । रुसमा भएको छलफलमा भारत र चीन दुवैले तनाव साम्य गर्ने सहमति गरेका छन् ।
याे पनि पढ्नुुहाेस्
