वैध सन्तान सरह अधिकारको माग गर्दै कलाकार डेलफीन पुगिन् अदालत

बेल्जियमका पूर्वराजा अल्बर्ट द्वितीयकी प्रेमिकाबाट जन्मिएकी छोरीले उनका वैध सन्तान सरह अधिकार र राजकीय पदवी अदालतले दिलाउने अपेक्षा गरेकी छन्। ५२ वर्षीया कलाकार डेलफीन बोएलले ब्रसल्सस्थित पुनरावेदन अदालतमा मुद्दा लगेकी छन् ।

पैतृक अधिकारका लागि एक दशकभन्दा बढी समययता बोएल सङ्घर्षरत रहेको पृष्ठभूमिमा गत ज्यानुअरीमा अल्बर्टले आफू नै उनका पिता भएको स्वीकारेका थिए । उनकी आमा ब्यारोनेस सिबिल डु सेलिस लोंशाङ अल्बर्ट राजा हुनुअघि उनीसँग १८ वर्षसम्म आफ्नो सम्बन्ध रहेको दाबी गर्छिन् ।

सन् १९९९ मा अल्बर्टकी श्रीमती तथा रानी पाओलाको आधिकारिता पुष्टि नगरिएको जीवनीमा पहिलो पटक अवैध सन्तानबारे चर्चा चलेको थियो । बोएलले राजा अल्बर्ट आफ्ना जन्मदाता बुवा हुन् भन्ने कुरा सन् २००५ को एउटा अन्तर्वार्तामा बताएकी थिइन् । राजाविरुद्ध मुद्दा लगाउनेबारे विद्यमान उन्मुक्तिसम्बन्धी व्यवस्थाका कारण सन् २०१३ मा राजा अल्बर्टले राजगद्दी नत्यागुञ्जेल उनीमाथि मुद्दा लगाउन सम्भव थिएन। त्यसपछि मात्रै बोएलले अदालती कारबाही शुरू गरेकी थिइन् ।

बिहीबार उनका वकिलले बताए अनुसार बोएलले अल्बर्टका तीन सन्तान सरहकै अधिकार तथा पदवी चाहेकी छन् । तीन सन्तानमध्ये फिलिप राजा छन् भने लोराँ युवराज र एस्ट्रिड युवराज्ञी छिन् । अदालतले बोएलको पक्षमा निर्णय गरेमा उनका सन्तानहरू पनि राजकीय पदवीका लागि योग्न हुने विवरणहरूमा जनाइएको छ ।

अदालतबाट नभई शाही आदेशबाट मात्रै बोएलले युवराज्ञीको हैसियत पाउन सक्ने अल्बर्टका वकिलले बताएका छन् । दैनिक पाँच हजार युरो जरिवाना तिर्नुपर्ने अदालतको आदेश नआउञ्जेल ८६ वर्षीय अल्बर्ट डीएनए परीक्षण गराउन मानिरहेका थिएनन् । डीएनए परीक्षणको नतिजा थाहा पाएपछि गत ज्यानुअरीमा उनले बोएल आफ्नो चौथो सन्तान भएको स्वीकारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *