आफ्ना कुरा राखेर बाहिरिए प्रधानमन्त्री ओली, नेकपा स्थायी समिति बैठककाे केन्द्रमा प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बालुवाटारमा जारी बैठकबाट पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका छन् । उनी आफ्ना कुरा राखेर स्थायी कमिटी सदस्यहरुसँगको सहमतिमा नै बैठकबाट बाहिरिएका हुन् ।

बुधबार भएको सहमतिअनुसार नै अध्यक्ष प्रचण्डले बैठकको अध्यक्ष गरिरहेका छन् । बुधबार दुई जना अध्यक्षबीच ओलीले सरकार सञ्चालन गर्ने र पार्टीको काममा हस्तक्षेप नगर्ने सहमति भएको थियो । त्यस्तै अध्यक्ष प्रचण्डले पार्टी सञ्चालन गर्ने सहमति भएको थियो ।

केपी ओलीको ठाउँमा प्रचण्ड

आजको बैठकमा कार्यकारीको भूमिका बढाउने प्रस्तावसँगै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डको बस्ने ठाउँसमेत परिवर्तन गरिएको छ । बैठकको ुसिटिङबाट प्रचण्डको भूमिका बढेको स्पष्ट संकेत दिने गरी सेन्टरमा देखिएका छन् । प्रचण्डको दाँया र बाँयातिर २(२ जना नेताहरू छन् ।

प्रचण्डको दायाँतिर प्रधानमन्त्री ओली र बरिष्ठ नेता झलनाथ खनाल छन् भने बायाँतिर वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम बसेका छन् ।

बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सहमतिका आधारमा गठित महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको समस्या समाधान कार्यदलको सुझावलाई थप गृहकार्य गरी ठोस कार्ययोजनाका रुपमा प्रस्ताव प्रस्तुत गरिनेछ ।

पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे यही भदौ १८ गतेको सचिवालय बैठकमा छलफल भएको थियो । गत साउन ३० मा भएको छलफलबाट महासचिव पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले यही भदौ ६ गते अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा प्रधानमन्त्री ओलीले सरकारको काममा केन्द्रित भई बाँकी कार्यकाल पूरा गर्ने र अध्यक्ष दाहालले पार्टीको कार्यकारी अध्यक्षमा आफूलाई केन्द्रित गर्ने, मन्त्रिपरिषद्मा आवश्यकतानुसार हेरफेर गर्ने, तोकिएको समयमा महाधिवेशन गर्ने, एकताका बाँकी काम शीघ्र पूरा गर्नेलगायत सुझाव छन् ।

नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटी बैठकमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएपछि कार्यदल गठन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *