हाब्रे हेर्न फेरि नेपाल आउँछुः अष्ट्रेलियन राजदूत पिटर बड

काठमाडौँ । नेपालका लागि अस्ट्रेलियन राजदूत पिटर बडले हाब्रे (रेडपाण्डा) हेर्न फेरि नेपाल आउने बताएका छन् । कार्यकाल सकेर स्वदेश फर्किनुअघि वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँगको भेटमा राजदूत बडले चितवन र बर्दियामा आफूले गरेको भ्रमणको सम्झना गर्दै आगामी दिनमा रेडपाण्डा हेर्न नेपाल आउने ईच्छासमेत व्यक्त गरेका छन् ।

नेपालको प्रकृतिमा आधारित (नेचर वेस) पर्यटनको प्रंशसा गर्दै उनले आगामी दिनमा समेत त्यसलाई सहयोग र प्रवर्द्र्धन गर्न आफू लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

सिंहदरबारस्थित वन मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा मन्त्री बस्नेतले नेपाल र अस्ट्रेलियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको र दुई देशबीच सम्बन्ध समधुर रहेको भन्दै द्विपक्षीय सम्बन्धलाई अझै मजबूत बनाउनुपर्नेमा जोड दिए । सामुदायिक वनको क्षेत्रमा अस्ट्रेलियाले गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै मन्त्री बस्नेतले आगामी दिनमा समेत वन र वातावरणको क्षेत्रमा सहकार्य जारी राख्ने धारणा व्यक्त गरे ।

मन्त्री बस्नेतले कोभिड १९ को विश्वव्यापी महामहारीले संसारलाई नै चुनौती थपेको भन्दै यो महामारीविरुद्ध लड्न संयुक्तरुपमा सहकार्य आवश्यक रहेको बताए । उनले राजदूत बडलाई नेपालमा रहँदा नेपाल–अस्ट्रेलिया सम्बन्ध मजबूत बनाउन पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सफलताको शुभकामना व्यक्त गरे ।

भेटमा राजदूत बडले ईसीमोडमा मन्त्री वस्नेतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले दुई देशबीचको ६० वर्षको सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए । राजदूत बडले लकडाउनको समयमा समेत अस्ट्रेलियामा केही उडानहरु भएको जानकारी दिँदै कोभिडपछि त्यसले व्यवसायिक उडानका रुपमा निरन्तरता पाउनेमा आफू आशावादी रहेको धारणा व्यक्त गरे ।

भेटमा कर्णाली प्रदेशमा कोभिड रिकभरी कार्यक्रम संचालन गर्ने विषयमा समेत छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *