आर्थिक अभावले उपचारमा समस्या

कावासोती । आर्थिक अभावका कारण हुप्सेकोट गाउँपालिका–४ की दलित महिला वडा सदस्य सुमित्रा नेपालीको उपचारमा समस्या भएको छ ।

पाठेघरको क्यान्सर रोगबाट पीडित वडा सदस्य नेपाली आर्थिक अभावका कारण उपचार गर्न अस्पताल जान नसकेपछि १५ दिनदेखि ओछ्यानमै थला पर्नुभएको छ ।

दुई वर्षअघि पाठेघरमा क्यान्सर भएको थाहा पाएपछि चिकित्सकले उपचारका क्रममा पाठेघर फालिदिएका थिए । त्यसपछि दुई पटक किमो चढाइएको थियो ।
शुरुमा रोग पत्ता लगाउन र उपचारमा भौँतारिदा करिब १० लाख खर्च भएको उहाँका श्रीमान् सन्तबहादुर नेपालीले बताउनुभयो । पहिलो पटक निःशुल्क किमो चढाएकोमा दोस्रोपटक वडा नम्बर ४ को संयोजनमा आर्थिक सङ्कलन गरी उपचार गरिएको श्रीमान् सन्तबहादुरले बताउनुभयो ।

श्रीमतीको उपचार गराउँदा गराउँदै आफ्नो नाममा भएको जग्गासमेत बेचेर सकिएको र अहिले केही पनि आम्दानी नहुँदा उपचारमा समस्या भएको उहाँको भनाइ छ । अहिले सम्पत्तिका नाममा सानो घर रहेको र त्यो पनि बैंकमा धितो रहेको उहाँले दुखेसो पोख्नुभयो ।

वडा सदस्य नेपालीलाई फेरि पनि किमो चढाउनुपर्ने र त्यसका लागि पैसा नभएपछि उहाँ बिस्तरामा थलिनुभएको छ । दई महिनाअघि सन्तबहादुर स्वयं बिरामी पर्नुभएको थियो । उहाँलाई अल्सर र पित्तथैलीमा समस्या देखएिपछि बल्लतल्ल उपचार गराएकोमा अहिले पुनः श्रीमतीलाई समस्या देखिएपछि यो परिवार समस्यामा परेको छ । पन्ध्र दिनदेखि ओछ्यानमा श्रीमती थलिएपछि श्रीमान् सन्तबहादुरले हेरचाह गर्दै आउनुभएको छ तर उपचारका लागि पैसा नहुँदा अस्पतालसम्म पुर्याउन भने सक्नुभएको छैन ।

वडा कार्यालयबाट यसअघि पनि आवश्यक सहयोगका लागि समन्वय गरेको र अहिले पनि सहयोग सङ्कलनका लागि आवश्यक समन्वय गरको हुप्सेकोट–४, का वडाध्यक्ष रोशन थापाले बताउनुभयो । श्रीमान् सन्तबहादुरले उपचारका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।

सहयोगका लागि सुमित्रा नेपालीको नाममा एनसीसी बैंक हुप्सेकोट शाखामा रहेको खाता नम्बर इ ०००५३२४२५५ मा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ । वडा सदस्य नेपालीको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले उहाँका श्रीमानको मोवाईल नम्बर ९८०५४५३५८५ मा सम्पर्क गरी आवश्यक सहयोगसमेत गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *