सरकारलाई असहयोग गर्दै आएका मुख्यसचिव रेग्मीलाई अवकासअघि नै पुरस्कृत गर्ने तयारी

  • 4
    Shares

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाका पत्नी आरजु राणाका विश्वासपात्र मुख्य सचिव लोकदर्शन रेग्मीलाई अवकास हुनुअगाडि नै सरकारले पुरस्कृत गर्दै बेलायतको राजदूत बनाउने भएको छ । उनको ठाउँमा परराष्ट्रसचिव शंकरदास बैरागीलाई ल्याउने योजनाअनुरूप रेग्मीलाई राजदूत बनाउन लागिएको हो ।

श्रीमती राणाकै दवावमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले रेग्मीलाई मुख्यसचिवमा २०७४ साल कार्तिक ४ गते नियुक्त गरेको थिए । नेपाली कांग्रेसनिकट मुख्यसचिव रेग्मीको कार्यशैलीप्रति प्रधानमन्त्री केपी शर्मा ओली सुरूदेखि नै असन्तुष्ट भए पनि रेग्मीलाई राजदूत बनाउन सल्लाहकारहरुको चर्को दवाब परेका छ ।

प्रधानमन्त्री ओलीलाई पराराष्ट्र सचिव शंकरदास बैरागी र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले दवाब दिइरहेको स्रोतले बताएको छ । रेग्मीलाई उनको पदावधी सकिनु अगावै बेलायतको राजदूत बनाएर पठाउन पाए आफू मुख्य सचिव बन्ने पक्का भन्दै बैरागी शक्तिकेन्द्र धाउन थालेका छन् । सोही योजनाअनुरूप मुख्य सचिव रेग्मीलाई बेलायतको राजदूत बनाउन लागी परेको र त्यहीअनुसार प्रधानमन्त्रीसँग सहमति भएको स्रोतले बताएको छ ।

मुख्य सचिव रेग्मीको पदावधी यही कार्तिक ३ गते सकिँदैछ भने परराष्ट्र सचिव शंकरदास बैरागीले असोज २२ अवकास पाउँदै छन् । त्यसैले परराष्ट्र सचिव बैरागी आफूँले अवकास पाउनुअगावै मुख्यसचिव रेग्मीलाई बेलायतको राजदूत बनाउन बिचौलिया र शक्तिकेन्द्र रिझाउन सफल भएका छन् । प्रधानमन्त्री ओलीलाई समेत रेग्मीलाई बेलायतको राजदूत बनाउने बारे बैरागीले सहमतिमा ल्याएको र अब छिट्टै त्यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पठाउने भन्दै सहकर्मीमाझ भन्ने गरेको स्रोतले बतायो ।

मुख्यसचिव रेग्मीलाई बेलायतको राजदूत बनाएर पठाउने सरकारको तयारीको सूचना बाहिर आएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र विवादको नयाँ विषय थपिएको छ । पार्टीभित्र लामो समय खटेर त्याग र संघर्ष गरेका नेता तथा कार्यकर्ता सरकारको उक्त तयारीबाट निराश बनेको एक नेताले बताएका छन् । “पार्टीभित्र राजदूत हुन योग्य व्यक्ति हुँदाहुँदै मुख्यसचिव रेग्मीलाई पुरस्कृति गर्नुपर्ने बाध्यता कसरी आइपर्ये ?” नाम उल्लेख नगर्ने शर्तमा ती नेताले नेपाल समाजलाई भने, “बिचौलियाको प्रभाव अब सबै नियुक्तिहरुमा यसैगरी पर्दै जाने छ ।”

यसअघि नै रेग्मीलाई जर्मनीको राजदूत बनाउन तिनै शक्तिकेन्द्रहरुले प्रयास गरे पनि प्रधानमन्त्री ओलीले सहमति नजनाउँदा उनीहरु सफल भएका थिएनन् । तर यसपटक भने प्रधानमन्त्रीलाई रोक्न नसक्ने भन्दै त्यही समूह लागी परेको स्रोतले बतायो ।

मुख्यसचिव रेग्मीले पनि अवकास हुने बेलामा राजदूत बन्नका लागि प्रधानमन्त्री र प्रधानमन्त्रीका सल्लाहकारहरुकोमा धाइरहेका छन् । अन्य सचिवहरुको फोनसमेत प्रायः नउठाउने, सरकारका महत्वपूर्ण काममा सहयोग नगर्ने र सरकारका गोप्य सूचना कांग्रेस सभापति देउवा निवास बुढानिलकण्ठ पुर्याउने आरोप उनीमाथि लाग्दै आएको पनि ती नेताले बताए ।


  • 4
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *