ओलम्पियन खेलाडीको कोरोना बीमा गरिने

काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बीमा गर्ने भएको छ । कमिटीको आज बसेको भर्चुअल बैठकमा ओलम्पिक खेलाडीको कोरोना बीमा गर्ने निर्णय गरिएको हो ।

बैठकले ओलम्पियनसँगै हाल ओलम्पिकको तयारी गरिरहेका खेलाडी, प्रशिक्षक, ओलम्पिक कमिटीका सदस्य तथा कर्मचारीको समेत कोरोना बीमा गर्ने निर्णय गरेको छ । सो अवसरमा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ तथा अन्य तीन कर्मचारी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको जानकारी गराइएको थियो । केही दिन अघि कोरोनाबाट संक्रमित हुनु भएका ओलम्पियन जीतबहादुर केसीको स्वास्थ्यलाभको समेत कामना गरिएको कमिटीले जनाएको छ ।

नुवाकोट हाप्किडो च्याम्पियन

नेपाल मार्शल आर्ट्स हाप्किडो सङ्घको व्यवस्थापन तथा नुवाकोट मार्शल आर्ट्स हाप्किडो सङ्घको आयोजनामा भएको प्रथम राष्ट्रिय भर्चुअल सेल्फ हाप्किडो च्याम्पियनसिपमा आयोजक टोली नुवाकोट च्याम्पियन बनेको छ ।
आज सम्पन्न भएको सो प्रतियोगितामा नुवाकोटका चार खेलाडीले स्वर्ण पदक जितेका छन् । नुवकोटका समिर गुरुङ, दिनेश गुरुङ, निमेष गुरुङ र मनराज गुरुङले स्वर्ण प्राप्त गरेको आयोजक संथाका अध्यक्ष मनोज गुरुङले जानकारी दिए ।

यस्तै दाङको टोली दोस्रो तथा कास्कीको टोली तेस्रो भयो । दाङका चेतन वली र गोपाल विकले तथा कास्कीका कृतिका गिरी र अन्जना परियारले स्वर्ण पदक जितेका छन् । स्वर्ण पदक जित्नेलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिएको अध्यक्ष गुरुङले बताए । प्रतियोगितामा रजत प्राप्त गर्ने खेलाडीलाई जनही रु सात हजार पाँच सय तथा कास्य पदक पाउने खेलाडीलाई जनही रु पाँच हजार प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *