केरुङमा चीनले रेलवे स्टेसन र पावर ग्रिड बनाउँदै

काठमाडौँ । चीनले भारतलाई लक्षित गरेर हाल नेपालसँगको सीमावर्ती केरुङसम्म रेल ल्याउन लागेको र केरुङमा रेलवे स्टेसन बन्न लागेको एक चिनियाँ विज्ञले बताएका छन् । चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्स (सिआइसिआइआर) अन्तर्गत इन्स्टिच्युट फर साउथ एसियन स्टडिजका निर्देशक हु सिसेंगले नेपालको विदेशनीतिसम्बन्धी वेबिनारमा सो कुरा बताएका हुन् ।

गत वर्ष उनी केरुङ भ्रमणमा जाँदा रेल्वे स्टेसन र हाइभोल्टेड पावर ग्रिडको विषय छलफल भएको हुले बताए । “सिगात्सेबाट केरुङसम्म चिनियाँ पक्षबाट सम्भाव्यता अध्ययनको काम भइरहेको छ, पावर ग्रिड र रेल्वे स्टेसनको काम हुँदै छ,” हुले भने । उनले पाकिस्तानसँग सिपेक (चाइना पाकिस्तान इकोनोमिक कोरिडोर) म्यानमारसँग सिमेक (चाइना म्यानमार इकोनोमिक कोरिडोर)जस्तै नेपालसँग पनि चाइना नेपाल इकोनोमिक कोरिडोर बन्ने सम्भावना रहेको हुको भनाइ थियो । नेपाल र चीनबीच केरुङ काठमाडौं रेलमार्गका लागि चिनियाँ पक्षले सम्भाव्यता अध्ययन गर्ने सहमति गत वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका क्रममा भएको थियो ।

अर्को प्रसंगमा उनले चीन तिब्बतको सुरक्षामा गम्भीर रहेको त्यस सन्दर्भमा नेपालसँगको सम्बन्धलाई चीनले हेरेको पनि हुले बताए । “चीन दक्षिण एसियाको अर्थतन्त्रमा सहकार्य गर्न चाहन्छ । भारतीय बजारसँग चीनको अर्थतन्त्र एकाकार गर्न चाहन्छौँ,” हुले भने, “तिब्बतको सुरक्षा, द्विपक्षीय सम्बन्ध र दक्षिण एसियासँग क्षेत्रीय कनेक्टिभिटीका सन्दर्भमा नेपालसँग सम्बन्धलाई हामीले हेरेका छौँ ।”

हुले नेपालमा चीन र भारतबीच कुनै पनि प्रतिस्पर्धा नभएको बताए । “चीन र भारतबीचको सीमा विवाद ऐतिहासिक असमझदारीको परिणाम हो, यसलाई अमेरिका र चीनबीचको असमझदारीका सन्दर्भमा वा अन्य सन्दर्भमा हेर्न मिल्दैन,” हुनले भने, “नेपालका सन्दर्भमा त म स्पष्ट भन्छु चीन र भारत प्रतिस्पर्धा गर्दैनन् । बरु भविष्यमा सहकार्य गर्नेछन् ।” भविष्यमा चीन र भारतबाट आउने रेल काठमाडौँमा भेटिने परिस्थितिलाई सहकार्यको नमुनाका रूपमा हुले परिभाषित गरे ।

नेपाल, भारत र चीनबीच सहकार्यको मोडालिटी पनि उनले प्रस्तुत गरे । “चीन र भारत पहिला आउने त्यसपछि नेपाललाई साथमा लिने, नेपाल र चीन आउने अनि भारतलाई साथमा लिने अथवा नेपाल र भारत एक ठाउँमा आउने र चीनलाई साथ दिने, तीनै मोडालिटीलाई चीनले समर्थन गर्छ,” हुले भने । नेपालको समृद्धिका लागि आन्तरिक राजनीतिक एकता सुदृढ हुनुपर्ने उनको जोड थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *