काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका १ हजार ३ सय ५९ संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालामा १३ हजार ६ सय ३८ पिसिआर परिक्षण गर्दा काठमाडौँमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ गरी उपत्यकामा ४ सय ५४ सहित ४ सय ६४ महिला तथा ८ सय ९५ पुरुष गरी १ हजार ३ सय ५९ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ४४ हजार २ सय ३६ पुगेको छ ।
यस्तै २४ घण्टामा १ हजार ३ सय ५४ संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या २५ हजार ५ सय ६१ पुगेको छ ।
यस्तै देशभर १८ हजार ४ सय ४ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
१४ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा १४ जना संक्रमितको निधन भएको छ । काठमाडौँका ३ तथा चितवनकी एक महिला र सप्तरीका २ तथा धनुषा, कास्की, नवलपरासि, प्युठान, रुपन्देही, पाल्पा र सुर्खेत का १/१ जना पुरुष गरी १४ जनाको को मृत्यु भएको मन्त्रालयले जनाएको छ (मृतकको संख्या १४ बताएपनि जिल्लागत विवरण दिँदा १३ जनाको मात्रै दिएको) । यो सँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या २ सय ७१ पुगेको छ ।