शनिबार बिहानै ६ कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । काठमाडौँमा दुई, बीरगञ्जमा तीन र चितवनमा एक गरी ६ कोरोना संक्रमितले ज्यान गुमाएको आज शनिबार बिहान पुष्टि भएकाे छ ।

पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिएका छन् । मृत्यु हुनेमा काठमाडौँकी र भक्तपुरकी महिला रहेका छन् । दुबै जनाको आइसियूमा उपचार भइरहेकाे थियाे । काठमाडौँकी महिलाको शुक्रबार राति र भक्तपुरकी महिलाको शनिबार बिहान मृत्यु भएको हो । काठमाडौंकी महिला साउन ३० गते अस्पताल भर्ना भएकी थिइन् ।

त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट पर्सामा थप तीन जनाको निधन भएको छ । वीरगञ्ज महानगरपालिका १२ की ६५ वर्षकी महिला र ४३ वर्षका पुरुष तथा वीरगञ्ज महानगरपालिका २२ का ३७ वर्षका पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको नारायणी अस्पतालले जानकारी दिएको छ ।

उच्च रक्तचापबाट पीडित ६५ वर्षकी महिलाको शुक्रबार राति उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको थियो । यस्तै ४३ वर्षका पुरुषको अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा उपचारको क्रममा निधन भएको छ । एचआईभी एड्स र हेपाटाइटिस बीका बिरामी ती पुरुषको नेशनल मेडिकल कलेजबाट रेफर भएर अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा आएको केही घन्टापछि नै शनिबार सवेरै बिहान १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यसैगरी चितवनमा शनिवार थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको चितवन मेडिकल कलेज शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ बस्ने ४७ वर्षीय ती महिलाको उपचारको क्रममा कोभिड आईसीयू कक्षमा बिहान ७ बजे मृत्यु भएको हो । मृगौला उपचारको लागि साउन २६ गते चितवन मेडिकल कलेजमा भर्ना भएकी महिलाको कोरोना परीक्षणका लागि गत भदौ ७ गते पठाइएको र भदौ ८ गते उनको कोरोना पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *