काठमाडौँ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत कोरोनाभाइरस सङ्क्रमित दुईजनाको आज बिहान मृत्यु भएको छ । मृत्यु हुने एक महिला र एक पुरुष जटिल अवस्थामा उपचारका लागि बाहिरबाट रेफर भएर आएका बिरामी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय, ललितपुरका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालका अनुसार दोलखा निवासी ३० वर्षीया महिलाको उपचारको क्रममा बिहान करिब चार बजे मृत्यु भएको हो । उनी भदौ २ गते अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् ।
त्यसैगरी सर्लाहीको मलङ्गवा निवासी ४६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट शुक्रबार बिहान करिब साढे पाँच बजे निधन भएको हो । उनी साउन ३१ गते पाटन अस्पतालमा उपचारका लागि भर्ना भएको डा. गेलालले जानकारी दिए ।
प्युठानका ६४ वर्षीयकाे संक्रमितकाे निधन
यसअघि प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं ७ का ६४ वर्षीयको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा आजै मृत्यु भएको थियाे ।
स्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी एवम् कोभिड –१९ फोकल पर्सन पुष्कल श्रेष्ठका अनुसार गत साउन २६ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका उनको कोरोना परीक्षण गर्दा साउन ३२ गते रिपोर्ट पोजेटिभ आएको थियो । सास फेर्न गाह्रो भएको र ज्वरो आएकाले उपचारका लागि यही भदौ १ गते उनलाई बुटवल पठाइएको उनी मधुमेह र र रक्तचापका बिरामी भएकाे सूचना अधिकारी श्रेष्ठले बताए ।
भारतपुरमा रत्ननगरका ६५ वर्षीय पुरूष पनि मृत्यु
भरतपुर अस्पतालमा उपचाररत रत्ननगर नगरपालिका– १३ का ६५ वर्षका पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । अस्पतालले जारी गरेको सूचनामा विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहीबार मृत्यु भएको हो ।
मृतक पुरुष दीर्घरोगी रहेको र उनलाई क्षयरोग, खुट्टा नचल्ने, मृर्गौलामा समस्या रहेको अस्पतालका कोभिड–१९ क्लिनिकल संयोजक डा. प्रमोद पौडेलले जानकारी दिए ।
वीरगञ्जमा ७४ वर्षीय पुरूषकाे पनि ज्यान गयाे
वीरगञ्जबाट प्राप्त समाचारअनुसार बीरगञ्ज महानगरपालिका १५ का ७४ वर्षका पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ । उनको उपचारको क्रममा बिहीबार साँझ पौने ७ बजे नारायणी कोभिड १९ वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएको हो अस्पतालले जनाएकाे छ ।
