कास्की जिल्लाभर आज मध्यरातदेखि निषेधाज्ञा

पोखरा । कोरोना महामारीको जोखिम बढ्दै गएपछि कास्की जिल्लामा आज रातिदेखि यही भदौ ७ गतेसम्म निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन समिति कास्कीको आज बसेको बैठकले उक्त निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए ।

उनका अनुसार आज राति १२ बजेदेखि ६ दिनसम्म कास्कीमा निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञाको अवधिमा खाद्य पदार्थ र औषधिबाहेक अरु सबै पसल बन्द रहने जनाइएको छ । सो अवधिमा घर बाहिर निस्कन पाइने छैन । स्वास्थ्य, सञ्चार र सुरक्षाकर्मी तथा अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक जिप्रकाबाट पास नलिएका गाडी गुड्न पाउने छैनन् भने सरकारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था पनि बन्द रहनेछन् ।

हिन्दू महिलाको महान् पर्व तीज र कुशे औंसीजस्ता चाडमा मानिसको भीडभाड हुने र सङ्क्रमण अझ फैलने सक्ने अवस्थालाई ध्यान दिएर निषेधाज्ञा लागू गरिएको जनाइएको छ ।

पोखरा महानगरपालिकामा हिजो बिहान बसेको सर्वदलीय बैठकले हिजो मध्यरातदेखि नै महानगरपालिका क्षेत्रभित्र लकडाउन गर्न जिल्ला सङ्कट व्यवस्थापन समितिलाई सिफारिस गरेको थियो । सोही निर्णयअनुसार महानगरपालिकाका प्रवक्ताले निषेधाज्ञाको जानकारी सार्वजनिक गरेका थिए । तर जिल्ला विपत व्यवस्थापन समितिको बैठक आज मात्रै बसेको छ । बैठकले पोखरा महानगरपालिका मात्र नभएर कास्की जिल्लाभरी लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *