USAID

४१ जिल्लामा लकडाउन, नौ जिल्ला रेडजोनमा, पाँच जिल्लामा शून्य संक्रमित


काठमाडौँ । लकडाउन खुलेसँगै कोरोना संक्रमण बढ्न थालेपछि अधिकांश जिल्ला फेरि लकडाउनतर्फ नै फर्किएका छन् । कतै निषेधाज्ञामार्फत सिडिओले त कतै स्थानीय तहले निर्णय गरेर अत्यावश्यकबाहेकका व्यवसायमा रोक लगाएका छन् । त्यसको स्वरूप भने लकडाउनकै जस्तो छ ।

आइतबारसम्म ४१ जिल्लामा आंशिक तथा पूर्ण लकडाउन गरिएको छ । गृह मन्त्रालयका सहप्रवक्ता प्रेमलाल लामिछानेका अनुसार २८ जिल्लामा स्थानीय प्रशासनले संक्रामक रोग नियन्त्रण ऐनअनुसार निषेधाज्ञा जारी गरेका छन् । अन्य जिल्लामा स्थानीय तहले लकडाउन लागू गरेका छन् ।

पर्सा, सप्तरी, बाँके, बारा, सुनसरी, सर्लाही, स्याङ्जा, बर्दिया, रौतहट, कपिलवस्तु, दोलखा, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, रामेछापमा जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा लागू गरिएको छ । ग्रामीण क्षेत्रमा केही खुकुलो भए पनि ती जिल्लाका सहरी क्षेत्र भने बन्द रहेको मन्त्रालयले जनाएको छ । नुवाकोटमा ६ स्थानीय तहमा निषेधाज्ञा छ भने जिल्लाभरि नै अत्यावश्यकबाहेकका सेवामा रोक लगाइएको छ ।

त्यस्तै, चितवन, पाल्पा, सुर्खेत, धनकुटा, उदयपुर, तनहुँ, रुकमु पश्चिम, धादिङ, मकवानपुर, कञ्चनपुर, झापा, दार्चुला, मोरङ, बझाङ, जुम्ला, सिराहा, महोत्तरी, धनुषा, काभ्रेपलाञ्चोकमा आंशिक लकडाउन छ ।

‘रेडजोन’मा भए पनि उपत्यकामा भने निषेधाज्ञा जारी गरिएको छैन । तर, विभिन्न सेवा बन्द गरिएका छन् । मध्यपुर ठिमी नगरपालिकाले लकडाउन नै लागू गरेको छ । कागेश्वरी मनहराले पनि अत्यावश्यकबाहेकको व्यवसाय बन्द गराएको छ । उपत्यकामा सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । त्यस्तै रेस्टुरेन्ट, सैलुन र जिमखाना पूर्ण रूपमा बन्द गरिएका छन् । अटेर गर्नेहरूलाई प्रहरीले पक्राउसमेत गरेको छ ।

सरकारले लकडाउन हटाएपछि संक्रमण धेरै देखिएका जिल्लामा निषेधाज्ञामार्फत लकडाउन लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । कतिपय स्थानीय तहले जिल्ला प्रशासनसँग समन्वय गरी आफ्नो क्षेत्रमा लकडाउन लागू गरेका छन् ।

नौ जिल्ला रेडजोनमा, पाँच जिल्लामा शून्य संक्रमित

सरकारले दुई सयभन्दा धेरै संक्रमित भएको जिल्लालाई ‘रेडजोन’मा राखेको छ । हाल काठमाडौं, मोरङ, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र बाँके ‘रेडजोन’मा छन् । यीमध्ये सबैभन्दा धेरै काठमाडौंमा एक हजार चार सय २९ र पर्सामा एक हजार ८४ सक्रिय संक्रमित छन् ।

हाल ७२ जिल्लामा संक्रमण देखिएको छ । संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा भने संक्रमितको संख्या शून्य भएका्े समाचार नयाँ पत्रिकाले छापेकाे छ  ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *