झोलुङ्गे पुल बनेपछि खुशी

चन्द्रौटा । कपिलवस्तुको चिराई खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । विजयनगर गाउँपालिका–१ र ५ को सीमामा रहेको उक्त खोलामा रु. ८४ लाख १० हजार ३०० को लागतमा पुल निर्माण भएको हो । लिडो नेपाल संस्थाको सहयोगमा निर्माण सम्पन्न पुलको गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले शुभारम्भ गर्दै वर्षात्को समयमा पालिकावासीलाई आवतजावत गर्न नसक्ने अवस्था अब हटेको बताए ।

अहिले वडा नं १ का बासिन्दालाई सहज भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोविन्द भट्टराईले जानकारी दिए । वर्षैदेखि यहाँका बालबालिका वर्षातको समयमा विद्यालय जान नसक्ने अवस्थामा रहेको अर्रा प्राथमिक विद्यालयका प्रध्यानाध्यापक सुदिप सारुले जानकारी दिए ।

झोलुङ्गे पुल निर्माण भएपछि गाउँवासी खुशी भएका छन् । बजार गएको बेला पानी परेमा उतै रोकिनुपर्ने बाध्यता अब हटेको स्थानीयवासी शिवनाथ यादवले बताए। झोलुङ्गे पुल निर्माण भएपछि विजयनगर गाउँपालिकाका भगरापुर, नयाँबस्ती, वीरनगर, अस्नारा, मन्नगरा, थरौलीलगायत गाउँका झण्डै ८०० घरपरिवारलाई आवातजावतमा सहज भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *