सिद्धान्त र नेतृत्व


– दुर्गाप्रसाद गौतम

विश्वमा प्रतिपादित भएका दर्शन तथा सिद्धान्तहरू विशेषतः मानिसहरूले आफ्नो प्रयोजन तथा समाजमा आफू अनुकूलतम अवस्थाको सृजना गर्दै आफू र आफ्नो समाजका चाहना तथा आकांक्षाहरूलाई सजिलै पूरा गर्न सकियोस् साथै उक्त दर्शन वा सिद्धान्तको व्यवहारिक प्रयोग मार्फत सकेसम्म न्याय तथा समानतामा आधारित समतामूलक समाजको सृजना गर्न सकियोस् भन्ने अभिप्रायद्वारा आविष्कार तथा प्रतिपादन गरेका हुन्छन् । यस्ता दर्शन तथा सिद्धान्तहरू विभिन्न कालखण्डमा समाजमा विकसित हुँदै गइरहेको विशेष अवस्था वा परिस्थितिलाई समयानुकुल बनाउनुपर्ने अवस्थामा आफसेआफ सृजना गर्नुपर्ने अवस्था वा परिस्थिति निर्माण भई सृजित हुन पुग्दछन् । जसले तात्कालिन समाजको गतिलाई अगाडि बढ्न बाटामा तेर्सिएर रहेका अवरोधहरूलाई हटाउन मार्ग प्रशस्त गर्दछन् । त्यसैका फलस्वरूप समाज नयाँ मूल्य, मान्यता र सिद्धान्तलाई अंगिकार गर्दै मानवीय बढ्दा चाहनाहरूलाई परिपूर्ति गर्दै अगाडि बढ्दछ । यसै क्रममा यदि सिद्धान्त समयानुकुलका मानवीय गतिविधि र चाहना अनुसार परिवर्तन भएन भने त्यस्तो सिद्धान्त वा विचारले जडसुत्रवादी दृष्टिकोणलाई पृष्टपोषण गर्दछ । जुन विचारलाई सिद्धान्ततः शास्त्रीय भनिए तापनि आधुनिक विचार तथा दर्शन र दृष्टिकोणद्वारा दिक्षित भैसकेको समाजका मानवीय आकांक्षा तथा चाहनाहरूलाई सम्बोधन गर्न यस्तो सिद्धान्तले सक्दैन र फलस्वरूप समाजका विभिन्न क्षेत्रहरूमा बेमेलका श्रृंखलाहरू सृजना हुन पुग्दछन् । जसले समाजको गतिलाई एकातर्फ अवरुद्ध गर्दछ भने अर्कोतर्फ विभिन्न खालका जडसुत्रवादी विचारहरूको प्रयोगका लागि मार्ग समेत खुला गर्दै जान्छ र अन्ततः समाज तथा मुलुक प्रगतिको दिशातर्फ उन्मुख हुनुको सट्टा अधोगतितर्फ लम्कनुका साथै कहिल्यै निमिट्यान्न नहुने दीर्घकालीन अशान्तिको बाटोतर्फ लाग्दछ । त्यसैले प्रत्येक समय तथा कालखण्डमा समाजको परिवर्तनसँगै उजागरित हुने जनभावना वा आकांक्षालाई सिद्धान्ततः गरिएको परिवर्तनसँगै यसलाई व्यवहारतः मेल खाने ढङ्गले समाजको वस्तुस्थिति तथा परिस्थिति अनुकूल ढाली प्रयोग गर्न सक्दा मात्र समाज तथा मुलुकहरूले इच्छित उपलब्धि हासिल गर्दै मुलुकलाई स्पष्ट दिशाबोध सहित अगाडि बढाउन सकेका उदाहरणहरू हामीसँग यथेष्टै छन् । अन्यथा प्रशस्तै सम्भावना हुँदा हुँदै पनि मुलुकहरू दीर्घकालीन अन्यौलता तथा युद्धको भूमरीमा धकेलिएका उदाहरणहरू पनि हामीसँगै प्रशस्तै नभएका होइनन् ।


विचार तथा दर्शन सिद्धान्ततः मानव जीवनका बहुआयामिक आकांक्षाहरूको सम्बोधनका लागि फलदायी हुन्छन् भनिए तापनि व्यवहारतः उही सिद्धान्त र दर्शनको हुबहु नक्कल सबै समाज तथा समुदायका मानिसहरूको लागि फलदायी हुँदैनन् भन्ने प्रशस्तै प्रमाणहरू हाम्रै र हाम्रै जस्ता धेरै समाजहरूमा प्रशस्त मात्रामा भेटिने गरिन्छ । उदाहरणका लागि सन् १९९० पछि खुकुलो पारिएको नेपाली अर्थतन्त्र र हामीले अवलम्बन गरेको उदारीकरणको बजार अर्थतन्त्रले दुई दशक वितिसक्दाको परिस्थितिमा हाम्रो अर्थव्यवस्थाका विभिन्न क्षेत्रहरू कृषि, उद्योग, पर्यटन, व्यवसाय आदिमा के कस्तो प्रभाव पायो ? उक्त नीतिको अवलम्बन पश्चात हामी मानवीय तथा अन्य हाम्रा साधन तथा स्रोतहरूको परिचालनमा कति अब्बल वा निर्बल भयौँ ? भन्ने जस्ता जिज्ञासाहरूको उत्तर खोज्न थाल्ने हो भने कुरा आफै प्रष्ट हुन समय खर्चिरहनु पर्दैन । अतः विश्व परिवेशमा सृजित व्यवहार तथा सिद्धान्तहरूको प्रयोग समय सापेक्ष सामाजिक परिवेश अनुकूलतम गर्न सकिएन भने यसको नतिजा हामीले इच्छा गरे जस्तो फलदायी नहुन सक्दछ । त्यसैले बेलैमा कुनै पनि सिद्धान्त तथा दर्शनलाई देखासिकीमा प्रयोग गर्नु भन्दा पनि उक्त सिद्धान्तको मर्मले हामीले प्रयोग गर्न चाहेको सामाजिक परिवेश तथा यस अन्तर्गतका सामाजिक तत्वहरू बीचको सामञ्जस्यतामा तारतादाम्यता मिलाउन सक्दछ की सक्दैन ? भन्ने कुरामा हेक्का पुर्याउनु जरुरी रहन्छ । अन्यथा यस्ता सिद्धान्तहरूको प्रयोग फलदायी हुँदैनन् ।


कुनै पनि समाजमा सिद्धान्तलाई व्यवहारतः प्रयोग गर्ने कार्य राजनैतिक नेतृत्वले गर्ने गर्दछ । राजनैतिक नेतृत्वको दक्षताले नै साँचो अर्थमा दर्शन तथा सिद्धान्तको प्रयोगलाई के कति चिरस्थायी राख्न सक्दछ वा सक्दैन भन्ने कुराको निक्र्यौल गर्दछ । उदाहरणका लागि हामी सत्रौँ शताब्दीको उत्तरार्ध वा १८ औं शताब्दीको थालनीसँगै सृजित वा विकसित भएको माक्र्वादी दर्शनको तात्कालिन सोभियत संघले गरेको पहिलो प्रयोगदेखि विभिन्न विश्वका राज्यहरूमा यसको प्रयोग सहि रूपमा उक्त दर्शनलाई समाज सापेक्ष प्रयोग गर्ने नेतृत्वको अभावमा कसरी पतन भए र साम्यवादी अर्थतन्त्रहरूको विश्वव्यापी पतनकाबीच पनि चिनियाँ अर्थतन्त्रमा आजसम्म पनि राजनैतिक स्वरूपमा उक्त दर्शनको कुशल प्रयोग के कति कारण सम्भव भयो भन्ने जिज्ञासाका पछाडी चिनियाँ नेतृत्वमा विद्यमान वैचारिक दुरदर्शिताका साथ विश्व परिवेशमा बढ्दै गइरहेको भूमण्डलीय प्रभावकाविच आफ्नो मुलुकको बृद्धि तथा विकासकालागि विश्व अर्थव्यवस्थाको अन्य मुलुकहरूसँगको आर्थिक तथा व्यापारिक सम्बन्धलाई बेग्लै ढङ्गले सम्बोधन गर्दै माक्र्सवादलाई परिस्कृत रूपमा प्रयोग गर्दै आफ्नो भौगोलिक अवस्थिति अनुरूपको राजनैतिक प्रयोगमा ध्यान पुर्याउन सक्नु हो भन्ने बुझ्न सकिन्छ ।


यसरी सिद्धान्त तथा दर्शन प्रयोगको विश्व इतिहासलाई शूक्ष्म विश्लेषण गर्दा के कुरा स्पष्ट देखिन्छ भने विश्वमा प्रायः विकसित दर्शन तथा सिद्धान्त मानव उपयोगि हुँदाहुँदै पनि यस्ता दर्शन तथा सिद्धान्तहरूको विकास खास ऐतिहासिक कालखण्डमा खास समाजमा सृजित विशेष अवस्था वा परिस्थितिबाट समाज वा मानव समुदायको उत्थान तथा भलाईको उद्देश्यद्वारा प्रेरित भई गरिएको हुन्छ । जसलाई विभिन्न समाजहरूले आफ्नो उत्पिडन तथा उन्मुक्तिका लागि प्रयोग गर्दा विशेषतः आफ्नो सामाजिक परिवेश तथा उत्पीडन र उन्मुक्तिको परिस्थिति अनुसारको व्याख्या, विश्लेषण र प्रयोग गर्न सक्नुपर्दछ । अन्यथा उक्त प्रयोग सामाजिक परिवर्तनलाई स्थायी राख्न सफल रहन्न । यसको ज्वलन्त उदाहरणस्वरूप हामी भारतको स्वतन्त्रता पछिको प्रजातान्त्रिक अभ्यास र त्यसलगत्तै नेपालले २००७ सालमा राणा शासनको समाप्तीपछि गरेको प्रजातान्त्रिक अभ्यास र ततपश्चात विकसित घटनाक्रम र बढ्दो परनिर्भरताको राजनैतिक परिवेश र हाम्रो मुलुकको राजनैतिक पद्धति र क्रियाकलापमाथि विभिन्न वाह्य राष्ट्रहरूको बढ्दै गएको चासो र हस्तक्षेपलाई हेर्ने हो भने अझ स्पष्ट हुने धेरै आधारहरू प्राप्त हुन्छन् । ब्रिटिस साम्राज्यको कब्जामा कयौँबर्ष व्यतित गरेको मुलुक भारत आज विश्वको उदयीमान शक्तिको रूपमा कसरी स्थापित हुन खोजिरहेको छ र कहिल्यै आफ्नो शार्वभौमिकता नगुमाएको भनी हामी कुर्लने हाम्रो सार्वभौमिक मूलुक किन विकासको गतिमा अगाडि बढ्न सकेन र आज सार्वभौम हुँदा हुँदै पनि हाम्रो मुलुक किन विकसित हुन सकेन भनी विश्लेषण गर्ने जमर्को गर्दा धेरै कुराहरू आफसेआफ प्रष्ट हुनेछन् ।


दर्शन चेतनाको उपज हो दर्शनलाई भविश्य अनुकूलतम प्रयोग कुशल नेतृत्वले मात्र गर्न सक्छ । किनकि कुशल नेतृत्वले मात्र सिद्धान्त तथा दर्शनलाई समयसापेक्ष वस्तुनिष्ट ढङ्गले आफ्नो परिवेश र परिस्थिति अनुरूप विवेकसङ्गत प्रयोग गर्न सक्दछ । फलतः यसले त्यही समाजको मौलिकपनको झझल्को दिन्छ जुन समाजमा यसलाई प्रयोग गरिएको हुन्छ । विडम्बना नेपाली अर्थतन्त्रले यस्तो नेतृत्वको झझल्को एकाध घटना परिघटनामा दिने प्रयास गरे पनि आजसम्म नेपाली नेतृत्वले नेपाली समाजलाई यसको मूल्य, मान्यता तथा आफ्नो मौलिक अवस्थितिका आधारमा अगाडि लैजान सकेको देखिँदैन । जसको प्रमुख कारण नेपाली राजनीतिको वर्तमान मुख्य घेराभित्र रहेका अधिकांश नेताहरूले नेपाली राजनीतिको उच्च स्थान नेपाली सार्वभौम जनताको मताधिकारबाट प्राप्त गर्ने कुरालाई सिद्धान्ततः स्वीकार गरे पनि व्यवहारतः फेरी राजनीतिक शक्ति अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको अधिनमा नै रहेको मान्नु र उक्त शक्तिकेन्द्रहरूको तावेदारी बापत मानौँ वकसमा राज्यशत्ताको साँचो प्राप्त हुन्छ भनेझैँ सिद्धान्ततः मेल नै नखाने विषयवस्तुलाई नै प्रजातान्त्रिक मूल्य, मर्म र मान्यता हो भनी कुतर्क गर्नु र सोही कुतर्कका पछाडी सिङ्गो पार्टीहरू लामबद्ध हुनुले पनि हाम्रो नेतृत्व के हो र यसमा के कति सिद्धान्तलाई व्यवहारत प्रयोग गर्न सक्ने सक्षमता छ भन्ने बुझ्न गाह्रो छैन । तर पनि निराशा र क्रन्दन तथा गालिगलोज र आरोपले मात्र साँचो अर्थमा समाज न त अगाडि बढ्छ न त हामीले भने जस्तो सार्वभौमिक नेपाल निर्माण नै हुन्छ । अतः आज हरेक ठाउँमा बस्ने (स्वदेश तथा विदेश) स्वाभिमानी विभिन्न पेशा, वर्ग, क्षेत्र, धर्म, पार्टी समूहका नेपालीहरूले यो वर्ग, पेशा, धर्म, क्षेत्र तथा पार्टी भन्दा माथि उठी राष्ट्रिय परिवेश अनुकूलतः सिद्धान्तको व्याख्या, विश्लेषण र प्रयोगमा चासो राखे मात्र नेतृत्व नयाँ सन्दर्भको खडा हुनेछ नत्र भने अझै कति समय कृत्रिम नेतृत्वको कृत्रिम सार्वभौमिकताको नाराले नेपाल र नेपालीलाई पिरोलिरहनेछ अहिल्यै यो एकिन साथ भन्न भने त्यति सजिलो छैन ।

           (लेखक आर्य स्कुल, सितापाइलाका संस्थापक प्रिन्सिपल हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *