स्कूल, कलेज अनिश्चितकालका लागि बन्द, भारतीयलाई काम गर्न प्रतिबन्ध, रेष्टुराँमा खान नपाइने

काठमाडौं । भदौं १ गतेदेखि भर्ना अभियान सुरु गर्ने तयारीमा रहेको देशभरका शिक्षणसंस्थाहरु सरकारले अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको जोखिम झन बढेकाले अर्को सूचना जारी नभएम्मका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै अर्थमन्त्रीसमेत रहेका युवराज खतिवडाले शैक्षिक संस्था, सेमिनार, पार्टी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय गरिएको बताए ।

यसैगरी, सरकारले होटल तथा रेष्टुरेन्टमा टेक अवेको नयाँ नियम लगाएको छ । लकडाउन खुलेसँगै साउन १५ गतेदेखि सुचारु गरिएका होटल, रेष्टुरेन्टमा बसेर खान पाइने नियम फेरि उल्ट्याइएकाे छ । कोरोना महामारी बढेका कारण अब फेरि टेक अवे मात्रै गर्न मिल्ने बनाइएको डा. खतिवडाले जानकारी दिए ।

सरकारले भारतीय नागरिकलाई नेपालमा आएर काम गर्न पनि रोक लगाइएको छ । सीमा क्षेत्रमा मानवीय आवाजावत बढ्दा कोरोना संक्रमण फैलिएकाले सरकारले उक्त निर्णय गरेकाे हाे ।

सरकारले भारतबाट स्वदेश फर्किने नेपालीहरू छिर्ने साविकका २० नाकालाई घटाएर १० मा झारेको छ । काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल आउन पाइने प्रवक्ता खतिवडाले जानकारी दिए । स्वदेश फर्किन चाहने नेपाली नागरिकले अब तोकिएका नाकाबाट मात्र छिर्न पाउनेछन् भने अन्य नाकाबाट छिर्नलाई कडा प्रतिबन्ध लगाइएको छ । सीमा नाकालाई भदौ ३१ गतेसम्म बन्द गरिएको छ ।

यसैगरी काठमाडौं उपत्यकालगायत २०० भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा ‘सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारीले मात्रै कार्यालय सञ्चालन गर्न पाउनेछन् । ‘बाँकी कर्मचारीले घरबाटै काम गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउने’, उनले भने । त्यसैगरी बढी जनसम्पर्क हुने कार्यालयका सेवा अनलाइनबाट सम्भव नदेखिए अर्को निर्णय नभएसम्म बन्द गर्न गर्न प्रवक्ता खतिवडाले कार्यालय प्रमुखहरुलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *