गलत समुहको रगतले सुत्केरीको ज्यान गयो

जनकपुरधाम । जनकपुरको एक अस्पताल र रेडक्रसको लापरवाहीले जनकपुरमा एक सुत्केरीको ज्यान गएको छ । जनकपुरस्थित रामजानकी अस्पतालमा एक सुत्केरी महिलालाई फरक रगत समूहको रगत चढाउँदा ज्यान गएको हो ।

महोत्तरी गौशाला नगरपालिका-११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको फरक रगत समुहको रगत चढाउदा मृत्यु भएको परिवारजनको दाबी छ । ‘ओ’ पोजिटिभ ब्लड ग्रुपको साटो ‘बी’ पोजिटिभ ब्लड चढाउँदा बिहीबार राति गंगा देवीको मृत्यु भए पनि घटना शुक्रवार सार्वजनिक भएको हो ।

व्यथा लागेपछि बिहीबार अपराहन ४ बजे उनलाई अस्पतालमा भर्ना गरिएको थियो । शल्यक्रिया (अप्रेशन) मार्फत गंगा देवीले छोरी जन्माएकी थिइन् । पछि शरीरमा रगत अभाव भएको थियो । अस्पतालले सुत्केरीको रगत सेम्पलसहित रगत लिन आफन्तलाई रेडक्रसमा पठाएको थियो ।

नेपाल रेडक्रस सोसाईटी धनुषा जनकपुरले दिएको दुई पोका रगत चढाएपछि सुत्केरी झनै सिकिस्त हुँदा चेकजाँच गरेपछि ओ पोजिटिभको ठाउँमा बी पोजिटिभ रगत चढेको पत्ता लागेको थियो । त्यसको केही बेरपश्चात सुत्केरीको मृत्यु भएको मृतकका पति राजकिशोर महतोले बताए। अस्पतालले भने अनुसार नै नमूना लिएर गएर रेडक्रसबाट रगत ल्याएको र त्यहिँ मध्ये एउटा पोका बी पोजिटिभ रगत अस्पतालले चढाएकोले श्रीमतीको मृत्यु भएको भन्दै उनले अस्पताल र रेडक्रसलाई कारबाहीको माग गरेका छन् ।

दोषी अस्पताल र रेडक्रसलाई कारबाही र क्षतिपुर्ति नदिएसम्म श्रीमतीको शव नठाउने उनले बताए । यता अस्पताल प्रशासनले रेडक्रसको लापरबाहीले सुत्केरीको जिउमा ओको ठाउँमा बी पोजिटिभ चढेको दावी गरेको छ। अस्पतालका सञ्चालक गणेश साहले अस्पतालले पठाएको नमूना अनुसार रेडक्रसले रगत दिएको र त्यही चढाएकाले यसमा अस्पतालको कुनै लापरबाही नभएको दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *