गंगालाल अस्पतालका तीन बिरामीसहित पाँच जनामा कोरोना संक्रमण

काठमाडौं । जटिल खालका मुटुका बिरामीहरुको उपचार गर्ने काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका लागि भर्ना भएका ३ जना बिरामी, १ चिकित्सक र १ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित बिरामीलाई पाटन अस्पतालको आइसोलेसनमा पठाइएको र संक्रमित चिकित्सक, नर्स र ल्याबका कर्मचारीलाई अस्पतालकै आइसोलेसनमा राखिएको स्रोतले जनाएको छ ।

गंंगालामा चिकित्सक, नर्स र बिरामीमा कोरोना संक्रमण भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले पुष्टि गर्नुभयो ।

दुई साताअघि पनि गंगालाल अस्पातलमा उपचाररत बिरामी र सुरक्षागार्डमा कोरोना संक्रमण भएको थियो । त्यति बेला कन्ट्रयाक ट्रेसिङमा गंगालालसँगैको रेस्टुरेन्ट सञ्चालक र परिवारका ३ जना सदस्यमा समेत कोरोना संक्रमण प्रमाणित भएको थियो ।

यसैबीच बागलुङस्थित धौलागिरी अस्पतालकी नर्समा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमण प्रमाणित भएकी नर्स आइसोलेसनमा राखिएको बिरामीको उपचारमा खटिएकी थिइन् । उनी धौरागिरी अस्पतालअन्तर्गत सञ्चालित धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा रहेका बिरामीको सेवामा खटिएकी थिइन् । स्वास्थ्य निर्देशनालयका अनुसार डिउटीमा खटिएकी २५ वर्षीया नर्समा कोरोना संक्रमण देखिएको हो ।

नर्समा कोरोना संक्रमण देखिएपछि धौलागिरी अस्पतालका ओपीडी सेवा बन्द गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। शैलेन्द्र विक पोख्रेलले विज्ञप्ति नै निकालेर जानकारी दिनुभएको छ ।

प्रिआइसोलेसनमा खटिएका दुई नर्समध्ये एकमा ज्वरो र रुघा देखिएलगत्तै पीसीआर परीक्षण गरिएको र मंगलबार पोजेटिभ रिपोर्ट आएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *