नेकपा टुटफुट जनतालाई स्वीकार्य हुँदैन : प्रमुख सचेतक गुरुङ

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले ठूलो मेहनत र बलीदानबाट एकतामा रुपान्तरण भएको गौरवशाली पार्टी टुटफुट नहुने दाबी गरेका छन् । लमजुङस्थित मस्र्याङ्दी गाउँपालिकामा नेकपा गाउँपालिका कमिटिले मंगलबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले पार्टी फुटाउने कार्य जनतालाई अस्वीकार्य भएको बताए ।

आन्तरिक विवाद समान्य वैचारिक ध्रुवीकरण मात्र भएको उल्लेख गर्दै उनले पार्टी नेतृत्वले उचित निर्णय गरेर पार्टीलाई एकताबद्ध ढङ्गले अघि बढाउन विश्वास व्यक्त गरे । नेकपामा आन्तरिक विवाद भइरहेमा बाहिरी शक्तिले चहलखेल गर्नसक्ने र देशको विकासमा समेत धक्का पुग्ने उनले बताए ।

नेकपाले एकताबद्ध भएर अघि बढेमा मात्र जनताले चाहेको जस्तो विकास गर्दै मुलुकलाई अघि बढाउन सकिने सचेतक गुरुङको भनाइ थियो । सचेतक गुरुङले मस्र्याङ्दी गाउँपालिका ३ तरापु पल्लोटारीमा गएको बाढीपहिरो प्रभावित क्षेत्रको समेत निरीक्षण गरेका छन् । यही साउन ७ र ८ गते गएको बाढीले प्रभावित गाउँ तथा पहिरोको स्थलगत निरीक्षण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *