म्युनिख ।युरोपियन गोल्डेन बुटको होडमा रहेका इटालियन क्लब लाजियोका फरवार्ड सिरो इम्मोबाइलले जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्कीलाई उछिनेका छन् ।
नेपाली समयअनुसार बिहीबार बिहान भएको लिगको ३७औं चरणको खेलमा लाजियोले ब्रेसियामाथि २–० को सहज जित निकाल्दा सिरोले १ गोल गरेपछि लेवान्डोस्कीलाई उछिनेका हुन् । उक्त गोलसँगै सिरोले सिरी ए लिगमा गरेको कूल गोल संख्या ३५ पुगेको छ । उनले ३४ गोलसहित शीर्ष स्थानमा रहेका लेवान्डोस्कीलाई पछि पारेका हुन् ।
अब गोल्डेन बुटमा सिरो सबैभन्दा अगाडि छन् । उनलाई युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोले ४ गोलको अन्तरमा पछ्याइरहेको छन् । लिगको ३७औं खेलमा जारी सिजनको सिरी ए च्याम्पियन बनिसकेका युभेन्ट्सका रोनाल्डोले क्याग्लिअरीविरुद्ध गोल गरेर सिरोसँगको अन्तर घटाउन सक्नेछन् ।
बिहिबार आफ्नै घरेलु मैदानमा भएको खेलमा लाजियोका लागि १७औं मिनेटमा जोआक्विन कोरेराले सिरोको पासमा गोल गरेका थिए । त्यसपछि खेलको ८२औं मिनेटमा सिरोले गोल गरेपछि खेल लाजियोले २–० ले जित्यो । सिरोले आधा दर्जनभन्दा बढी गोलको अवसर पाउँदा अन्तिम समयमा १ गोल मात्र गर्न सफल भए ।