सेनाका लागि अमेरिकाबाट आयो नयाँ हतियार, पुराना हतियार सशस्त्रलाई दिने तयारी

काठमाडौं । नेपाली सेनाले अमेरिकाबाट नयाँ हतियार किन्ने भएपछि पुराना केही राइफल सशस्त्र प्रहरीलाई दिने भएको छ । हजार हाराहारीमा प्रयोग भइसकेका इन्सास राइफल दिन लागिएको हो । गोप्य सुरक्षा नीतिमा सशस्त्र प्रहरीले नयाँ हतियार किन्न नपाउने उल्लेख छ ।

०५७-५८ सालतिर माओवादीले नेपाल प्रहरीका थ्रिनटथ्रि राइफल लुट्न थालेपछि सेनाले १७ करोड लिएर आधुनिक राइफल दिने भनेको थियो तर सम्झौताअनुसार काम भएन । त्यसैको तोडमा भारतले दिएका इन्सास राइफल दिएर सशस्त्र प्रहरी बल गठन गरियो । यसकै हतियार पनि माओवादीले लुट्न छाडेनन् ।

अहिले पनि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लागेको र जुनसुकै बेला स्थिति बिग्रन सक्ने भन्दै आर्मीले आफूले चलाइसकेका हतियारसहित सशस्त्रलाई प्रशिक्षित गर्न लागेको हो । सीमामा समस्या भइराखेको बेला सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई प्रशिक्षित र हतियार सम्पन्न गराउन तत्काल यसरी नै गर्जो चलाउनुको विकल्प नरहेको रक्षा मन्त्रालयस्थित स्रोतले बतायो । पुराना र प्रयोगमा आइसकेका हतियार मर्मत गरेर मध्य भदौबाट दिने प्रक्रिया शुरु भएको छ ।

सेनाले आफ्नालागि भने अमेरिकाबाट नयाँ हतियार ल्याउने तयारी थालेको छ । सेनासँग हाल १८ हजार बढी इन्सास राइफल छ । र, ०७४ सालदेखि नै नयाँ हतियार किनेको छैन । सेनाले चार वर्षदेखि नयाँ दरबन्दी पनि थपेको छैन । ९७ हजारको सीमाभित्र रिक्त पदमा मात्रै भर्ना लिने गरेको छ । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *