पहिरोले भोटखोला जाने सडक अवरुद्ध

किमाथाङ्का । लगातारको वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको भोटखोला जाने सडक अवरुद्ध भएको छ ।

उत्तरदक्षिण सडकखण्डको मकालु गाउँपालिका–३ को सम्माटारमा पहिरो खसेपछि सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने सडकखण्ड १५ दिनदेखि अवरुद्ध भएको उत्तरदक्षिण सडक कार्यालयका प्रमुख इन्जिनीयर गौतमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उत्तरदक्षिण सडकखण्डको मकालु–३ को सम्माटार र उवाँमा पहिरो झरेपछि सडक अवरुद्ध भएको इन्जिनीयर श्रेष्ठले बताउनुभयो । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको हेदाङनागढीसम्म चलिरहेको उहाँले बताउनुभयो । लगातार वर्षा भइरहेका कारण अवरुद्ध भएको सडक कहिले खुल्छ भन्ने यकिन हुन नसकेको उहाँले बताउनुभयो ।

विभिन्न स्थानमा पहिरो

सङ्खुवासभामा पहिरोले विभिन्न स्थानमा क्षति पु¥याएको छ । लगातार परेको वर्षासँगै आएको पहिरोले खाँदबारी नगरपालिका–६ तल्लो पाङ्ठामा एक घर पुरिँदा एक जना गम्भीर घाइते भएका छन् । सोमबार राति ३ बजे घर माथिबाट खसेको पहिरोले घर पुरिँदा खाँदबारी–६ का शान्तिबहादुर खत्री घाइते हुनुभएको हो । उहाँलाई स्थानीयवासीले उद्धार गरेर जिल्ला अस्पताल खाँदबारी ल्याएको खाँदबारी–६ का वडाध्यक्ष दयानिधि बरालले जानकारी दिनुभयो ।

अविरल वर्षाले खाँदबारी–९ मा रहेको तुम्लिङटार बजारसमेत डुबानमा परेको छ । तुम्लिङटार बजार क्षेत्रका घरमा माटो र ढुङ्गाले बनेका तीन कच्ची घर भत्किएका छन् । पानीले जलमग्न भएको तुम्लिङटारमा विनोद बाह्रकोटी, कृष्ण श्रेष्ठ र सम्सेर मगरको घर भत्किएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो । पहिरोले ढुंगेबिसौनीका वीरसुन्दर श्रेष्ठको घर, खाँदबारी–३ का गीता दर्जी र नारायण बुढाथोकीको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

पहिरोका कारण जिल्ला कारागारसमेत जोखिम परेको छ । पहिरोले चारैतिर तान्न थालेपछि पहिरोको उच्च जोखिममा परेको खाँदबारी कारागारका प्रमुख विनोद अधिकारीले बताउनुभयो । उहाँका अनुसार कारागारको माथिल्लो भाग र तल्लो भाग दुवैतिर पहिरोले तान्न थालेको छ । जिल्ला कारागारमा अहिले १२४ कैदीबन्दी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *