चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय हिमाली पर्यटन मेलामा नेपाल ‘थिमकन्ट्री’

काठमाडौँ । चीनको सिचुवान प्रान्तको कान्च प्रिफेक्चरमा बुधबारदेखि हुने अन्तर्राष्ट्रिय हिमाली पर्यटन तथा सांस्कृतिक मेलामा नेपाललाई ‘थिमकन्ट्री’का रूपमा प्रस्तुत गरिने भएको छ । मेलाको मुख्य आकर्षण हस्तकला प्रदर्शनीमा ३० कक्षमा नेपाली सामग्री राखिने छ । मेलामा विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र पर्यटकीय नगरी पोखराको प्रवर्द्धन गरिने छ ।

नेपालको प्रतिनिधित्व एवम संयोजन गर्ने जिम्मा पाएको साइनो नेपाल मिडिया सोसाइटीका अनुसार तीन दिवसीय मेलाकै अवसर पारेर नेपाल–चीन साना तथा मझौला उद्योग प्रवर्द्धनसम्बन्धी कार्यशाला आयोजना हुनेछ । मेलामा थिमकन्ट्रीका रूपमा नेपाललाई प्रस्तुत गरिए पनि नेपाल सरकारलाई कुनै आर्थिक भार पर्ने छैन । कार्यक्रमको सबै खर्च चीन सरकारले नै व्यहोर्ने सोसाइटीले जनाएको छ ।

पोखरासँग भगिनी सम्बन्ध स्थापित भएको कान्च तिब्बत, छिङ्गहाई, कान्सु र युनान प्रान्तको सङ्गमस्थल मानिन्छ । हिमाली कला र संस्कृतिमा भरिपूर्ण भएकाले त्यहाँ आयोजना गरिने मेलामा नेपाललाई थिमकन्ट्रीका रूपमा प्रस्तुत गर्न सफल भएको सोसाइटीले जनाएको छ ।

कान्चमा चीन सरकारले हिमाली कला, संस्कृति र पर्यटनसम्बन्धी चीन र दक्षिण एशियाको प्रदर्शनी केन्द्र निर्माण गर्ने योजना बनाएको छ । प्रदर्शनी केन्द्रमा पनि नेपाललाई पहिलो प्राथमिकता दिन कान्च सरकारले वचन दिइसकेको र यससम्बन्धी समझदारीपत्रमा स्थानीय सरकार र सोसाइटीबीच हस्ताक्षरसमेत गर्ने कार्यक्रम रहेको छ । मेलाबाट कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण अप्ठेरो परेको नेपालको पर्यटन तथा हस्तकला उद्योगको प्रवर्द्धन गर्न योगदान पुग्ने विश्वास गरिएको छ ।

कान्च प्रिफेक्चरमा करिब ८० प्रतिशत तिब्बती बौद्ध धर्मावलम्बी छन् । उनीहरुका लागि लुम्बिनी प्रमुख र आकर्षक गन्तव्य स्थल हो । उनीहरुका घर, मन्दिर र गुम्बामा नेपालका हस्तकलाका सामान प्रयोग हुँदै आएका छन् । बौद्ध पूजा तथा प्रार्थनाका लागि चीनको तिब्बत, सिचुवान, कान्च, छिङ्गहाईलगायतका प्रान्तका बौद्धमार्गीमा नेपालका मूर्ति, थाङ्का, धुप, कचौरालगायत हस्तकलाका सामग्रीको ठूलो माग छ । यस्ता धार्मिक महत्व बोकेका नेपाली हस्तकलाका सामानहरुको व्यापार चिनियाँहरुले गर्दै आएका छन् । सिचुवान नेपालसँग सबैभन्दा बढी हवाई सम्पर्क भएको चीनको प्रान्त हो । सिचुवानको प्रान्तीय राजधानी छन्तुबाट एअर चाइना, तिब्ब्त एअर र सिचुवान एअरले नियमित उडान गर्दै आइरहेका छन् ।

One thought on “चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय हिमाली पर्यटन मेलामा नेपाल ‘थिमकन्ट्री’

  1. Great news. Since Nepal started to built it’s friendshop with China, it seems that Nepal has started showing its development.

Leave a Reply

Your email address will not be published. Required fields are marked *