कोरोनाबाट थप तीनको मृत्यु, मृतकको संख्या ४८ पुग्यो

काठमाडौँ । कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलन गरी बारा, पर्सा र धुनषामा एक–एक जनाको मृत्यु भएको जनाएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–१० मा ६५ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको छ । ती भारतीय नागरिकको ११ साउनमा मृत्यु भएको मन्त्रालयले जनाएको छ । गण्डक मेडिकल कलेजमा उपचारत उनी मुटु रोगी थिए ।

धनुषामा पनि ३६ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको छ । १० साउनमा जनकपुर प्रादेशिक अस्पतालमा भर्ना भएका ती पुरुषमा ज्वरो, खोकीलगायत लक्षण देखिएको थियो । प्रादेशिक अस्पताल भर्ना भएका ती संक्रमितलाई धरान लैजाने क्रममा ११ साउनमा बाटोमै मृत्यु भएको हो ।

बाराका ६० वर्षीय पुरुषको भने काठमाडौंमा मृत्यु भएको छ। त्रिभुवन शिक्षण अस्पतालमा उपचारत उनको आज सोमबार मृत्यु भएको हो । ती संक्रमितलाई निमोनिया भएको थियो । योसहित नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

सोमबार ६२६ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित निको हुने संक्रमित संख्या १३ हजार ७ सय ५४ पुगेको छ। सोमबार १ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार थपिएको सहित संक्रमित संख्या १८ हजार ७ सय ५२ पुगेको छ। सोमबारसम्म उपचारत संक्रमित संख्या चार हजार ९ सय ५० छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *