कक्षा ११ का विद्यार्थीबाट सरकारले असुलेकाे ५२ करोड खै ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का परीक्षार्थीसँग रजिष्ट्रेशन र परीक्षा शुल्क वापत असुलेको ५२ करोड रुपियाँको बारेमा कुनै निर्णय गर्न सकेको छैन । यो वर्षदेखि कक्षा ११ को वार्षिक परीक्षा विद्यालयले नै सञ्चालन गर्ने भएपछि बोर्डले उठाएको रकमको बारेमा निर्णय गर्न सकेको छैन ।

बोर्डले कक्षा ११ मा रजिष्ट्रेशन वापत ४ सय र परीक्षा सञ्चालन खर्च ६ सय गरी प्रति बिद्यार्थी एक हजार रुपियाँ संकलन गरेको थियो । विद्यालयले परीक्षा नै नभएपछि उक्त रकम फिर्ता गर्नुपर्ने तर्क गर्न थालेका छन् । कक्षा ११ मा करिब ५ लाख २८ हजार परीक्षार्थी सामेल हुने अवस्थामा थिए ।

बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले प्रश्नपत्र र उत्तरपुस्तिका छपाईमा केही रकम खर्च भएको जानकारी गराउँदै बाँकी रकम के गर्ने भन्ने विषयमा छलफल भैरहेको बताए । उनले भने–सबै कार्यालयबाट हिसाब मागिरहेका छौ, हिसाब आएको केही दिनपछि बाँकी रकम के गर्ने भन्ने विषयमा निर्णय गर्नेछौ ।

बोर्डले प्रश्नपत्र र उत्तरपुस्तिका छपाईमा कति खर्च भयो भन्ने विषयमा यकिन हिसाब निकाल्ने तयारीमा छ । बोर्डको बैठकले सबै आर्थिक विवरण तयार भएपछि बाँकी रकम विद्यालयलाई नै दिने गरी तयारी गरिरकेको छ ।

बोर्डले बाँकी रकमले विद्यालयले परीक्षा सञ्चालन गर्न, निरीक्षक भत्ता र उत्तरपुस्तिका परीक्षणमा खर्च गर्ने गरी फिर्ता दिने तयारी गरेको छ ।

हामी विद्यार्थीलाई मर्का नपर्नेगरी निर्णय गर्ने तयारीमा छाैँ–अध्यक्ष पौडेलले भने । बोर्डले करिब १५ करोड रुपियाँ खर्च भएको हुनसक्ने अनुमान गरेको छ । त्यस्तै परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को पनि परीक्षा वापत उठाएको रकम र खर्च भएको विवरण सार्वजनिक हुन सकेको छैन ।

परीक्षा बोर्डले एसईई परीक्षाको खर्चको विषयमा समेत छलफल शुरु गर्ने भएको छ । एसईई परीक्षा पनि विद्यालयबाटै सञ्चालन भएपछि उत्तरपुस्तिका परीक्षण खर्च जोगिएको छ । परीक्षाफल प्रकाशित गर्ने दायित्व पनिकाको भए पनि यो वर्ष उत्तरपुस्तिका परीक्षण खर्च जोगिएको छ ।

बोर्डले परीक्षा सञ्चालन र व्यववस्थापन खर्च प्रदेश मातहतको कार्यालयलाई पठाइसकेको छ । प्रदेशले परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने भएपछि सो रकमको विषयमा बोर्डले निर्णय गर्न नसक्ने अध्यक्ष प्राडा पौडेलको भनाइ थियो ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले प्रति उत्तरपुस्तिका परीक्षण गरेवापत परीक्षकले ३० रुपियाँ पाउने व्यवस्था भएको बताए । बोर्डले उत्तर पुस्तिका परीक्षण गर्न करिब १४ करोड रुपियाँ खर्च हुने जानकारी दिएको छ । सो रकम कहाँ खर्च भयो भन्ने विषयमा प्रदेश सरकारले हिसाब दिनुपर्नेछ ।

कक्षा १० को परीक्षा खर्च वापतको रकम नेपाल सरकारको खातामा जान्छ । कक्षा ११ र १२ को बोर्डको खातामा जाने गरेको छ ।

बोर्डले कक्षा ११ को निर्णय गरेपनि १० कक्षाको निर्णय गर्न सक्दैन । परीक्षा नियन्त्रक खकुरेलले एसईई परीक्षाको परीक्षाफल प्रकाशित गर्न सबै प्रकृया गर्नुपर्ने भएकोले केही रकम खर्च हुनसक्ने बताएकाे समाचार आज नेपाल समाचारपत्रमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *