काठमाडौं महाबौद्धमा एउटै परिवारका पाँच जनामा कोरोना, भारतबाट आएकाले फैल्याए संक्रमण

काठमाडौँ । भारतको विहारबाट आएका एक परिवारका पाँचै जनामा कोरोना पुष्टि भएको छ । उनीहरुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणको क्रममा कोरोना पुष्टि भएको हो । अस्पतालको विवरण अनुसार भारतबाट आएकी एक महिलामा बिहिबार कोरोना पुष्टि भएको थियो । कन्ट्रयाक्ट ट्रेसिङ गर्ने क्रममा शुक्रबार अन्य सदस्यको परीक्षण गर्दा सबैमा कोरोना देखिएको हो । परिवारका दम्पत्ति, छोरा–छोरी र नातिनीमा कोरोना देखिएको टेकु अस्पतालका एक चिकित्सकले जानकारी दिए ।

१५÷२० दिनअगाडि मात्र छोरी र नानीति बिहारबाट काठमाडौं आएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई टेकु अस्पताल लगिएको थियो ।

उनीहरु महाबौद्ध काठमाडौमा पसल व्यवसाय गर्नेहरु रहेको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखा सर्भिलेन्स शाखाका जनस्वास्थ्य अधिकृत महेन्द्र ध्वज अधिकारीले बताए । संक्रमित परिवारको महावौद्ध गणेश मन्दीर नजिकै अन्डरगार्मेन्ड पसल छ ।

उनको पसल वरपरका र सम्पर्कमा आएका १०० जनाको नाम संकलन गरी काठमाडौं महानगरपालिका २७ नम्बर वडा मार्फत स्थानीयले परीक्षणको लागि अनुरोध समेत गरेका छन् । परीक्षणको लागि विभिन्न ठाउँमा अनुरोध गरे पनि वास्ता नगरिएको एक स्थानीयले बताए ।

चिकित्सकका अनुसार पछिल्लो समय काठमाडौं उपत्यकामा दैनिक चारदेखि १० जनामा कोरोना पुष्टि भएको छ । केही सातादेखि यता काठमाडौंमा दैनिक भारत तथा तराइबाट आएकाहरुमा संक्रमण पुष्टि भएको छ ।

पुष्टि हुनेहरुमा धेरै जसो भारतको विहारवाट आएका र नेपालको तराइ क्षेत्रवाट आएका बढी छन् । लामो समयको लकडाउन खुकुलो भएपछि उनीहरु बिभिन्न माध्यमवाट काठमाडौं भित्रिएका हुन्। सरकारले नेपालमा कोरोना संक्रमितको संख्या घटेर तीनदेखि ४ प्रतिशतमा पुगेपछि लकडाउन खोलेको थियो । नेपालमा संक्रमणदर घटेपनि भारतमा दैनिक हजारौको संख्यामा संक्रमण बढिरहेकोले त्यसको प्रभाव नेपालमा पर्ने चिकित्सकहरु बताउँछन्।
‘पछिल्लो समय भारतबाट आउनेमा बढी संक्रमण पुष्टि भएको छ, उनीहरु हवाइ र स्थल मार्ग भएर आएको देखिन्छ’ राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले भने। पाण्डेका अनुसार भारतबाट हालै पाँच हजारको संख्यामा नेपाल भित्रिएका छन् ।

भारतसँग नेपालको खुल्ला सीमाना र त्यसमा पनि स–साना सीमानाबाट आउने क्रम जारी, रहेको बिभिन्न मालवाहक गाडीमा आउने क्रम जारी रहेको कोभिड १९ उपचार अस्पतालहरुको अनुभव छ । भारतको विहारमा स्थायी घर भई काठमाडौंमा मारवल बिच्छाउने, कपाल काट्ने पेशा, फर्निचर घर निर्माण कार्य तथा व्यापारमा संलग्न भारतीयहरु राजधानीमा मात्र लाखौको संख्यामा रहेको र उनीहरु फर्किने क्रम जारी रहेकोले संक्रमण दिनहुँ बढिरहेको चिकित्सकले औल्याएका छन् ।

भारतवाट आउनेहरु अनुमति लिएर आउने हुनाले उनीहरुलाई रोक्न नसकिने र कतिपयहरु लुकिछिपी समेत आउने गरेको कोभिड १९ संकट व्यवस्थापनका महेन्द्र श्रेष्ठले बताए । नेपाल आइसकेपछि जिल्ला–जिल्लामा सही रुपमा क्वारेनिटनको व्यवस्था नभएको स्थिति देखेपछि केन्द्रले जिल्ला प्रमुख अधिकारीलाई पत्र जारी गरी सबैको परीक्षण गर्न निर्देशन दिइसकेको बताएको नागरिक दैनिककी पवित्रा सुनारले जनाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *