काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले तेजाब प्रहारबाट घाइते युवतीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिदैँ उनकाे उपचारमा सरकारले सहयाेग गर्ने बताएका छन् । मन्त्री ढकालले आज कीर्तिपुर अस्पताल पुगी उपचाररत पीडित युवतीलाई भेटेर भने, “तपाईँको उपचारमा सरकारका तर्फबाट सक्दो सहयोग हुन्छ, घटनामा संलग्नलाई हदैसम्मको कारवाही हुन्छ ।”
मन्त्री ढकालसँग सांसद यज्ञराज सुनुवार पनि पीडितलाई भेट्न अस्पताल पुगेका थिए । सो अवसरमा मन्त्री ढकालले कीर्तिपुर अस्पतालको अवस्थाबारे त्यहाँका पदाधिकारी तथा चिकित्सकसित जानकारी लिएका थिए ।
स्थानीय सीतापाइलामा बस्दै आएकी ओखलढुङ्गाकी २२ वर्षीया युवतीलाई बिहीबार साँझ भारतको विहार घर भई डल्लु बस्दै आएका फैयाज आलमले तेजाब प्रहार गरेका थिए । फैयाजलाई उनीसँगै बस्दै आएका रौतहट लक्ष्मीपुर–४ का मोहम्मद आलमले युवतीमाथि तेजाब छ्याप्न लगाएका थिए ।
दुवै अभियुक्तलाई प्रहरीले बिहीबार राति नै डल्लुबाट पक्राउ गरेको थियो । प्रहरी कल डिटेल र सिसी क्यामराको सहायताले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । मोहम्मद काठमाडौँको एक कपडा कारखानाका मालिक तथा फैयाज कामदार भएको खुलेको छ । पीडित युवती र उनकी दिदी पहिला मोहम्मदकै गार्मेन्टमा काम गर्थे । पछि पीडित युवतीले उक्त कारखनामा काम गर्न छाडेकी थिइन ।
पीडित युवतीको उपचारमा संलग्न चिकित्सक डा सुरेन्द्र बस्नेतले उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको बताए । “पहिलाभन्दा अहिले घाउ ठीक हुँदै गएको छ”, उनले भने । उपचारमा केही समय लाग्ने बस्नेतको भनाइ थियो । तेजाब प्रहारबाट युवतीको अनुहारको दायाँपट्टिको भाग जलेको छ ।
