काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङले नेकपा फुट्दा नेपालको राष्ट्रियता नै सङ्कटमा पर्ने खतरा रहेको र बहस तथा छलफल भएपनि पार्टीभित्र नफुट्ने दाबी गरेका छन् ।
आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले भने, “पार्टी विभाजन हुनुहुँदैन, पार्टी विभाजनको बाटोबाट जानुहुँदैन, विभाजनको बाटोबाट जानु भनेको के हो प्रजातन्त्र सिद्धिने बाटोमा जानु हो ।” उनले राष्ट्रिय सहमतिका साथ अघि बढ्नुको अर्को विकल्प नरहेको बताएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले देशका विभिन्न स्थानमा भएको बाढीपहिरो, कोरोनाको महामारी, हत्या, हिंसा, बलात्कार, एसिड आक्रमणजस्ता घटना नियन्त्रणमा लाग्न सरकारलाई आग्रह गरे ।
जनता समाजवादी पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले कोरोनाले भन्दा बढी मानिसले बाढीपहिरो र डुबानजस्ता विपत्ति भोग्दापनि सरकारले समयमै उद्धार र राहत व्यवस्था गर्न नसकेको आरोप लगाए ।
