सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको सिद्धान्तलाई पार्टीभित्र स्थापित गर्नुपर्छ : प्रचण्ड

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट विचारधारा र विवेकले सत्ताको नेतृत्व गर्नुपर्ने मान्यता राख्ने भन्दै पार्टीले सत्ता चलाउनुपर्नेमा सत्ताले पार्टीमाथि हैकम चलाउने स्थिती आउनु कम्युनिस्टको वैज्ञानिक मान्यताभन्दा बाहिरको कुरा रहेको बताएका छन् । अहिलेको सरकार यसै दिशातर्फ गएको संकेत गर्दै अध्यक्ष प्रचण्डले समुहको अधिनस्त व्यक्ति हुनुपर्नेमा व्यक्तिको अधिनस्त समुह हुने खतरा पैदा भएको आशंका व्यक्त गरेका छन् ।

समुहको नेतृत्वमा व्यक्ति हुने बताउँदै प्रचण्डले सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारिको सिद्धान्तलाई कम्युनिस्ट पार्टीभित्र स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीको स्थायी कमिटी बैठकबाट निर्णय भएपछि मात्रै सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको बताउँदै प्रचण्डले यसको श्रेय कुनै व्यक्तिले मात्रै लिन नहुने र पार्टीको निर्णय सर्वोपरी हुने बताएका छन् । प्रधानमन्त्रीले आनाकानी गरेको भए नक्सा जारी गर्न सम्भव नभएको भन्दै प्रचण्डले प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् ।

नेकपाको बैठक चलिरहेका बेला प्रधानमन्त्री ओलीकै सक्रियतामा निर्वाचन आयोगमा एमाले नामको पार्टी दर्ताको प्रक्रिया सुरु भएको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले नेकपा संकटमा रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *