अविरल बर्षासँगै गएको पहिरोले क्षति

आइतबार राति देखि परेको अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरेबर गाउँपालिका ४ फाखेलमा एक घर पहिरोले पुरेको छ ।
गाउँपालिका ४ मा रहेको राकस खोला माथीबाट आएको पहिरोले १ स्थानीय ३४ बर्षीय दीपककुमार मोक्तानको घर पुरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन् ।पहिरोले कुनै पनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ।

त्यसैगरी दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोले घर बगाउँदा आमाछोरी बेपत्ता भएका छन् ।
आइतबार बेलुका आएको पहिरोमा परी नौगाड ६ की ३५ वर्षीया मानमती ठगुन्ना र उनकी ६ वर्षीया छोरी रेवती ठगुन्ना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बेपत्ता उनीहरुको खोजी भइरहेको छ ।
सो पहिरोले एक विद्यालय भवन, कुखुरा फर्म, पानी घट्ट र स्थानीयको गोठमा रहेका गाईबाख्रा बगाएको छ भने तीनवटा घर क्षतिग्रस्त भएका छन् ।

त्यसैगरी गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरा झरेपछि तनहुँको डुम्रे–वेशीशहर सडकखण्ड अवरुद्ध भएको छ ।

भानु नगरपालिका –३ चाम्बासस्थित रिडिखोला नजिक खसेको पहिरोले सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ । निरन्तर वर्षा भएकाले पहिरो हटाउन केही समय लाग्ने जनाइएको छ ।

यस्तै वर्षाका कारण पहिरो गएपछि तनहुँको ऋषिङ गाउँपालिकास्थित श्रृङ्गपथ अवरुद्ध भएको छ । श्रृङ्गपथको घुम्तीभिरमुनि पहिरा खसेर सडक अवरुद्ध बनेको स्थानीयवासी निर्मल थापाले जानकारी दिए । ऋषिङ गाउँपालिकाकै ऐरीचौतारा हुँदै राम्जाकोट जाने बाटो समेत पहिराका कारण अवरुद्ध भएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको मुग्लिङ–कोत्रे सडखण्डमा भने कुनै अवरोध नरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *