पुरातत्व बिभागको टोली ठोरीको अयोध्यापुरीमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् राम नेपालकै अयोध्यामा जन्मेको बताएपछि पुरातत्व विभागले अनुसन्धान शुरु गर्ने भएको छ । विभागले विभागकै पुरातत्व अधिकृतसहितको विशेष टोली माडी र ठोरी पठाउने भएको छ ।

प्रम ओलीले गएको असार २९ गते भानुजयन्तीको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा अयोध्या नेपालमै रहेको र भगवान् रामचन्द्र नेपालमै जन्मिएका हुन् भन्ने अभिव्यक्ति दिनुभएको थियो । प्रम ओलीले अभिव्यक्ति दिएपछि छिमेकी मुलुक भारतमा तरङ्ग उत्पन्न भएको थियो । सत्ताधारी दल भारतीय जनता पार्टीले उक्त अभिव्यक्तिप्रति खेद व्यक्त गरेको थियो ।

सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलगायत सबै दलले प्रम ओलीको अभिव्यक्तिको चर्को आलोचना गरेका थिए । परराष्ट्र मन्त्रालयले भारतलाई एक नोट पठाएर सो अभिव्यक्ति प्रम ओलीको व्यक्तिगत धारणा भएको उल्लेख गरेको थियो ।

प्रम ओलीको सो भनाइलगत्तै विभागले प्रमाण जुटाउन अनुसन्धान शुरु गरेको हो । सो क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले अनुसन्धान गरी प्रमाण जुटाउन पुरातत्व विभागलाई निर्देशन दिएको छ । विभागमा महानिर्देशक दामोदर गौतमसहितको टोली मन्त्रालयमा पुगेपछि मन्त्रालयले प्रमाण संकलन गर्न निर्देशन दिएको हो । गौतमको टोली असार ३० गते मन्त्रालय पुगेको थियो ।

मन्त्रालका उच्च अधिकारीसँगको छलफलमा महानिर्देशक गौतमले प्रारम्भिक अनुसन्धान गर्ने जिम्मा विभागको भएको भन्दै तत्काल टोली माडी र ठोरी खटाउने भन्नुभएको थियो । स्रोतका अनुसार विभागको टोलीले एक दुई दिनभित्र वाल्मीकि आश्रम, लवकुश जन्मिएको र सीता भासिएको स्थान, अयोध्यापुरी र अश्वमेघ यज्ञ भएको स्थानलगायतको बारेमा अनुसान्धान गर्ने तयारी गरेको छ ।

विभागका महानिर्देशक गौतमले विभागको काम अनुसन्धान गर्ने भएकाले सो विषयमा अध्ययन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले संस्कृतिविद्सँग छलफल गरिरहेका छौं, आवश्यक परे टोली खटाएर अनुसन्धान गर्नेछौं ।’

विभागले मुलुकको कार्यकारी प्रमुखले व्यक्त गरेको विषयमा गम्भीर अध्ययन गरिने जनाउँदै गोप्य रुपमा टोली गठन गरेको छ । विभागले केही प्रमाण नभेटिएसम्म अनुसन्धान फितलो हुने भन्दै सो पाटोलाई पूर्ण गोप्य राख्ने तयारी गरेको छ ।

हाम्रो काम अनुसन्धान गरी प्रमाण संकलन गर्ने हो, त्यसैले अहिले के भइरहेको छ भन्ने विषयमा जानकारी दिने अवस्था छैन । विभागले अहिले सो विषयमा प्रारम्भिक छलफल मात्र गरेको जनाउँदै आएको छ । अनुसन्धान र उत्खनन गर्ने काम विभागको भएपछि इतिहासको पत्ता लगाउने संयन्त्र नेपालसँग नभएकाले विदेशी निकायको सहयोग लिनुपर्ने हुन्छ ।

त्यस विषयमा समेत सरकारले विभिन्न निकायसँग छलफल अघि बढाउने तयारी गरेको छ । कति वर्ष पुरानो वा कस्ता संरचना रहेका छन् भन्ने विषयमा प्रयोगशालामा परीक्षण गर्नुपर्ने भएकाले विदेशीको सहयोय आवश्यक गर्ने विभागको भनाइ छ । विभागले इतिहासको ठोस प्रमाण र तिथिमिति तय गर्ने प्रयोगशाला नेपालमा छैन ।

सरकारले अयोध्यापुरीमा केही आधार भेटिएपछि विदेशी अनुसन्धानकर्ताको सहयोग लिने तयारी गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्रमले व्यक्त गर्नुभएको विषयमा अध्ययन गर्न विभागलाई निर्देशन दिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘तथ्य पत्ता लगाउने विषयमा विभागलाई निर्देशन दिइसकेका छौं, विभागकै तथ्यको आधारमा थप काम अघि बढाउनेछौं ।’

उता त्रिविअन्तर्गत केन्द्रीय संस्कृति विभागले पनि अनुसन्धान शुरु गरेको जनाएको छ । ‘हाम्रो नियमित कार्यक्रममा सो क्षेत्रको अनुसन्धान गर्ने विषय समेटेका छौं’ –विभागका प्रमुख प्रा। मदनकुमार रिमालले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

प्रमले विषय गम्भीर भएको भन्दै अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभएको उहाँको भनाइ थियो । उहाँले सो विषयमा विभागसँग कुराकानी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो विषयमा अनुसन्धान गर्न आवश्यक भएकाले हामी तयारी रहेका छौं ।’

उता माडी नगरपालिका र ठोरी गाउँपालिकाले सो विषयमा विभिन्न निकाय, संस्कृतिविद्सँग छलफल शुरु गरेको खवर आज नेपाल समाचारपत्रमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *