बेँसीशहर–चामे सडक अवरुद्ध

लमजुङ । जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका – ४ च्याम्चेमा पहिरो जाँदा बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको वर्षाले पहिरो जाँदा सो स्थानमा सडक अवरुद्ध भएको हो ।

लमजुङ – मनाङको एक मात्र यस सडकखण्डको च्याम्चेमा पहिरो जाँदा सडक अवरुद्ध भइरहेको सडक डिभिजन कार्यालय दमौलीका इञ्जिनीयर सुमन अधिकारीले बताए । उहाँका अनुसार सो स्थानमा सडक माथिबाट पहिरो खस्दा करीब २० मिटर सडक अवरुद्ध भएको छ । ठूला ढङ्गासहितको पहिरो पन्छाउन समय लाग्ने उनको भनाइ छ ।

सो पहिरो एक्साभेटरले हटाउने तयारी भएको र समय लाग्ने भएको छ । सो स्थानबाहेक सडकखण्डअन्तर्गत गाउँपालिकाको रामबजारमा समेत गएको पहिरो भने हटाइसकेको छ । अन्य स्थानमा समेत सानासाना पहिरो गएको र सवारीसाधन सञ्चालन हुन सक्ने भए पनि च्याम्चेको पहिराले सञ्चालन हुन नसकेको इ अधिकारीले बताउनुभयो ।

पैँसठ्ठी किमीको सो सडक दैनिकजसो अवरुद्ध हुँदै खुल्दै आएको छ । बेँसीशहरस्थित तत्कालीन कार्यदल नेपाली सेनाले २०६९ सालमा सो सडकको निर्माण सम्पन्न गर्दै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेयता सवारीसाधन सञ्चालन हुँदै आएको छ । हालसम्म पनि गुणस्तरीय सडक हुन नसक्दा वर्षेनी वर्षायाममा सडक अवरुद्ध र बिग्रिने गर्नाले सवारी साधनदेखि यात्रुलाई समस्या हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *