निकुञ्ज र बस्तीको सिमानामा कङ्क्रिटको पर्खाल

चितवन । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनको सिमानामा बसोबास गर्ने नागरिकलाई वन्यजन्तुको आक्रमणबाट जोगाउन चितवनमा कङ्क्रिट पर्खाल निर्माण गरिएको छ । पूर्वी चितवनको खैरहनी र राप्ती नगरपालिकाअन्तर्गत पर्ने मध्यवर्ती सामुदायिक वन र बस्तीको सीमामा साढे दुई किलोमिटर पर्खाल निर्माण सम्पन्न गरिएको हो ।

वाग्मती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो चरणमा ५.५ किलोमिटर पर्खालका लागि ठेक्का सम्झौता गरेकामा आधा काम सम्पन्न भएको छ । पहिलो चरणमा जम्मा आठ किलोमिटर पर्खाल निर्माण गर्ने मन्त्रालयको लक्ष्य छ । बाँकी २.५ किलोमिटर पर्खालको ठेक्का सम्झौता भएर यस वर्षदेखि काम शुरु भएको हो ।

मन्त्रालयले आठ करोडको लागतमा ५.५ किलोमिटर पर्खाल निर्माण गरिरहेको इञ्जीनियर बालगोपाल सिग्देलले जानकारी दिए । पर्खालको ५० प्रतिशत काम सम्पन्न भएको र बाँकी यसै आर्थिक वर्षमा सम्पन्न हुने उनले बताए । खैरहनी नगरपालिकाको वडा नं १०, ११, १२, १३ र राप्ती नगरपालिकाको १, ३ र ६ नं वडामा पर्खाल निर्माण गरिएको छ । सो क्षेत्रमा हात्ती, गैँडा, बँदेललगायतका जङ्गली जनावर बस्तीमा पसेर बाली खानुका साथै धनजनको समेत क्षति गर्ने गरेका छन् ।

खैरहनी र राप्ती नगरपालिकाअन्तर्गत निकुञ्जको सिमानाका बस्तीमा वन्यजन्तु प्रवेश गरेर दुःख दिन थालेपछि मानव र वन्यजन्तुबीचमा द्वन्द्व बढ्दै गएको छ । द्वन्द्व बढेका कारण संरक्षणमा समेत असर पुगेको भन्दै संरक्षणकर्मीहरुले चिन्ता व्यक्त गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *