कीर्तिपुर नगरपालिका क्षेत्रमा निर्माण भइरहेका भौतिक पूर्वाधारको मन्त्री नेम्बाङद्धारा अनुगमन

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकास मन्त्री वसन्तकुमार नेम्बाङले कीर्तिपुर नगरपालिका क्षेत्रमा निर्माण भइरहेका विभिन्न पूर्वाधारहरुको स्थलगत अनुगमन गर्नु भएको छ ।
कीर्तिपुर नगरपालिका भित्र निर्माण भइरहेका सडक, पुलको निरिक्षण गर्नुका साथै त्यस क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाहरुको समेत अवलोकन गर्नु भएको हो ।
अनुगमनको क्रममा कीर्तिपुर नगरपालिकाले गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङले नगरपालिका र संघीय सरकार एकअर्का बीच समन्वयले जनताको सेवासंगै भौतिक पूर्वाधार विकासलाई अगाडी बढाउने आधारहरु निर्माण हुने बताउनु भयो ।
उहाँले भन्नु भयो ″मैले प्रत्येक हप्ता विदा पर्यो भने विदाको दिन अथवा शुक्रबार, शनिबार मन्त्रालय अन्तर्गत भइरहेका विकास निर्माणका कामहरु अनुगन निरिक्षण गर्ने गर्दछु । पहिलो पटक नगरपालिका आफैले अगाडी बढाईरहेका विकास निर्माण गतिविधि र संघीय मन्त्रालयको तर्फबाट भइरहेका कामको पनि अवलोकन गर्ने मनसायले यहाँ आएको हो ।ʺ
मन्त्री नेम्बाङले काठमाण्डौका भित्री बाटोहरुलाई समेत कसरी व्यवस्थित गर्ने भन्ने बारे छलफल भइरहेको बताउँनु भयो ।
उहाँले भन्नुभयो ″नगर, महानगरका भित्रिबाटाहरु व्यवस्थित गर्ने, बाटो नभएको ठाउँमा विस्तार गर्ने र कसरी स्ट्रिट लाईफलाई स्मार्ट लाईफको रुपमा परिणत गरेर जाने भनेर स्थानीय निकायहरुसंग छलफल गरिरहेका छौ ।ʺ
स्थानीय जनता र जनप्रतिनीधिहरुसंग विकास निर्माणका सम्बन्धमा छलफल अन्तरक्रिया गर्नु पनि आफ्नो नियमित अनुमगनको उदेश्य रहेको समेत उल्लेख गर्नु भयो ।
नयाँबजार गेट, पाँगा दोबाटो, नागा उँधोबाटो, भत्केपाटी, पुष्पलाल पार्क र कीर्तिपुर तीनथाना जोड्ने निर्माणाधिन पुलको स्थलगत अवलोकन गरिएको थियो ।
मन्त्री नेम्बाङले पुष्पलाल पार्कमा पुगेर नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलालको प्रतिमामा माल्यार्पण समेत गर्नु भयो ।
शुक्रबार भएको अनुगमनमा प्रतिनीधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठ, कृष्ण राई, विना श्रेष्ठ, नगर प्रमुख रमेश महर्जन, उपप्रमुख सरस्वती खड्का, पूर्वराज्यमन्त्री दिलिप महर्जन, आयोजना प्रमूख साथै स्थानीय सरोकारवालाहरु सहभागी रहनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *