नक्कली जग्गाधनी खडागरी ३२ बिगाह जग्गा हिनामिना गर्ने सहसचिव सहित १३ जना बिरुद्ध मुद्धा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली जग्गाधनी खडा गरी ३२ बिघा २ कट्ठा १७ धुर जग्गा बिक्रीमा संलग्न रहेको अभियोगमा सहसचिवसहित १३ जनामाथि मुद्धा दायर गरेको छ ।
आयोगले सहसचिव टीकाराम ज्ञवालीसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । ज्ञवाली नवलपरासीका तत्कालिन प्रमुख मालपोत अधिकृतका रुपमा काम गरेका थिए ।

आयोगले उनीहरु बिरुद्ध ५ करोड ५ लाख ४२ हजार बिगो कायम गरी कारवाही अगाडि बढाएको छ । । नवलपरासीको साबिक सनई गाविस–८ ख कित्ता नम्बर १२१, २५१, २९७ कोे जग्गा हदबन्दी रोक्का रहेकोमा नक्कली जग्गाधनी खडा गरी बिक्री गरेको उजुरी अख्तियारमा परेको थियो । आयोगले उक्त उजुरीको छानवीन गर्दा अभियुक्तहरूले भ्रष्टाचार गरेको देखिएको अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

भूमिसुधार, मालपोत नवलपरासीका कर्मचारीसहित स्थानीय निकायबाट सिफारिस दिने कर्मचारी र स्थानीयलाई पनि भ्रष्टाचारजन्य कसुरमा संलग्न भएको प्रमाणित भएपछि उनीहरूविरुद्ध सजायको मागदाबी सहित मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ ।

तत्कालीन प्रमुख मालपोत अधिकृत ज्ञवाली, भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार, मालपोत अधिकृत मनोहरप्रसाद पन्थीलाई समेत प्रतिवादी बनाइएको छ । तत्कालीन नायबसुब्बा बुद्धिसागर तिवारी, रमेशमान श्रेष्ठ, कम्प्युटर अपरेटर सुवास खड्का, खरिदार नेत्रबहादुर चौधरी, अमृतकुमार काम्मु मगर, खगेन्द्र पराजुलीविरुद्ध अख्तिारले मुद्दा चलाएको हो ।

अख्तियारले ज्ञवाली, कलवार, पन्थी, नायबसुब्बाद्वय श्रेष्ठ र तिवारी, कम्प्युटर अपरेटर खड्का, खरिदारद्वय चौधरी र पराजुलीलाई ८ देखि १० वर्ष कैद सजायको माग दावी गरेको छ ।
अख्तियारले ३ जना तत्कालीन गाविस सचिवविरुद्ध पनि मुद्दा चलाएको छ । नन्दलाल दास, बुद्धिसागर सुवेदी, नन्दलाल कुम्हाल कोहारलाई प्रतिवादी बनाएर २ वर्ष कैद सजाय माग गरिएको छ । गेरमी गाउँपालिका–५ बस्ने रविकुमार खत्रीलाई पनि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *