काठमाडौँ । उद्योग क्षेत्रमा चालू आर्थिक वर्ष २०७६÷७७ का लागि ३६ अर्ब नेपाली रुपियाँ विदेशी लगानीको प्रतिबद्धता आएको छ । यही असार २१ गतेसम्म २ सउ १३ उद्योगमा ३५ अर्ब ९४ करोड नेपाली रुपियाँ विदेशी लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।
विभागको तथ्याङ्कअनुसार कूल लगानीमध्येमा ७० देखि ८० प्रतिशतसम्म लगानी प्रतिबद्धता चीनबाट आएको छ । यसैगरी चीनपछि भारत, अमेरिका, मलेसियालगायतका देशबाट लगानी प्रतिबद्धता आएका छन् । विभागका प्रवक्ता विनोदकुमार खड्काका अनुसार गत वर्षको तुलनामा उद्योगको सङ्ख्यामा कमी आए तापनि लगानीमा वृद्धि भएको छ । उनका अनुसार गत वर्षको तुलनामा असार २१ गतेसम्म १० अर्ब २७ करोडभन्दा बढी रुपियाँ लगानी गर्ने प्रतिबद्धता आइसकेको छ । गत वर्ष ३ सय ४४ वटा उद्योगमा २५ अर्ब ४७ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको थियो ।
कुन क्षेत्रमा कती लगानी
चालू आर्थिक वर्षमा सबैभन्दा धेरै लगानी सेवामूलक क्षेत्रमा आए तापनि पर्यटन क्षेत्रमा धेरै उद्योग रहेको खड्काले जानकारी दिए । उनका अनुसार सेवामूलक क्षेत्रमा ६८ उद्योगका लागि १० अर्ब ६५ करोड रुपियाँ, पर्यटन क्षेत्रमा ७५ उद्योगका लागि ९ अर्ब ७१ करोड ६९ लाख रुपियाँ, सूचना प्रविधि क्षेत्रमा ३७ उद्योगका लागि ७० करोड ८१ लाख रुपियाँ प्रतिबद्धता आएको छ ।
यसैगरी ऊर्जा क्षेत्रका छ उद्योगमा ५२ करोड ७४ लाख रुपियाँ, कृषि तथा वनजन्य क्षेत्रमा चार उद्योगका लागि ४ करोड ४७ लाख रुपियाँ बराबरको लगानी गर्ने प्रतिबद्धता आएको छ ।
२ सय ७२ स्वदेशी उद्योग दर्ता
यही असार २२ गतेसम्म उद्योग विभागमा २ सय ७२ स्वदेशी उद्योग दर्ता भएका छन् । विभागको तथ्याङ्कअनुसार उक्त उद्योगमा १ खर्ब ४६ अर्ब ७० करोड रुपियाँ कुल पूँजी रहने गरी उद्योग दर्ता भएका छन् । गत आवमा विभागमा ४ सय ४१ उद्योग दर्ता हुँदा दुई खर्ब ८५ अर्ब रुपियाँ कूल पूँजी रहने गरी दर्ता भएका थिए । गत वर्षको तुलनामा उद्योग दर्ता सङ्ख्याको तुलनामा लगानीमा वृद्धि भएको छ ।
विभागको तथ्याङ्कअनुसार सरकारले कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै गत चैत ११ गतेदेखि गरेको बन्दाबन्दीको अवधिमा ३६ उद्योगमा ६ अर्ब ६ करोडभन्दा बढीको लगानी प्रतिबद्धता आएको छ । यसैगरी चालू आवमा विदेशी लगानीमा रहको उद्योगले १० हजार ७ सय २४ जनालाई र स्वदेशी उद्योगले १७ हजार १ सय ७१ जनालाई रोजगारी दिने प्रतिबद्धता गरेका थिए ।