ओली प्रचण्डबीच सहमति नजिक

काठमाडौं । आन्तरिक विवादका कारण विभाजनको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको संकट तत्कालका लागि टरेको छ ।

पार्टीभित्रबाटै बहुमत नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग उठेपछि विवाद उत्कर्षमा पुगेको थियो । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सत्ता संघर्षका कारण चुलिएको विवादको निरन्तरको संवादमार्फत समाधान हुने क्रममा रहेको छ ।

पार्टी अध्यक्षद्वय ओली र प्रचण्डबीच पाँचपटक भएको संवादमा ठोस सहमति नजुटे पनि तत्काल प्रधानमन्त्रीलाई पदबाट हटाउने अडान अर्का अध्यक्ष प्रचण्डले छोडेको ओली निकट एक नेताले बताए । उनका अनुसार प्रधानमन्त्रीको राजीनामाको विषय अहिलेका लागि टरेको छ, पार्टी सञ्चालनको जिम्मेवारी कसरी तय गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

ओली र प्रचण्डबीचको अडानका कारण संवाद नै नहुने अवस्था सृजना भएपछि पार्टीभित्र दोस्रो पुस्ताका नेताहरुले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । प्रचण्डले पार्टी एकताको मूल मर्मअनुसार ओली नचलेको भन्दै असन्तुष्टि जनाउँदै दुई साताअघि भएको स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग्नुभएको थियो ।

पार्टीभित्रबाटै राजीनामा दिनुपर्ने दबाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को वर्षे अधिवेशन अन्त्य गर्दै कांग्रेससँग समेत मिलेर सरकार गठन गर्ने चेतावनी प्रचण्डलाई दिनुभएको थियो ।

प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने अडान लिँदै आएपछि अन्ततः पार्टीभित्रको दबाबमा रहनुभएको कारण कार्यकारी अधिकार प्रचण्डलाई दिन तयार भएको स्रोतको दाबी छ ।

पार्टीको विवाद समाधान गर्न भूमिका निर्वाह गर्नुभएका स्थायी कमिटी सदस्य मणि थापाले विवाद समाधान हुनेतर्फ छलफल सकारात्मक बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘पार्टी विभाजन हुन्छ कि भन्ने चासो र चिन्ता थियो, पार्टी अब विभाजित हुँदैन, एकताबद्ध भएर नै अगाडि बढ्छ, अब जारी विवादको पनि चाँडै किनारा लाग्छ ।’

पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्षद्वयबीच ठोस सहमति नहुँदा स्थायी समितिको बैठकसमेत प्रभावित बनेको छ । दुई अध्यक्षबीच सहमति कायम गरेर मात्र स्थायी समिति बैठक बसेर निर्णय लिने बताइएको छ ।

ओली र प्रचण्डबीच अध्यक्षको भूमिका बाँडफाँडमा सहमति जुटे पनि बाँकी सबै विषयमा प्याकेजमै सहमतिको खोजी भइरहेकाले केही दिन वार्ता अझै लम्बिने बताइएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार देशबासीको नाममा गर्नुभएको सम्बोधनका क्रममा पनि पार्टीभित्रको आन्तरिक विवाद समाधान हुने बताउनुभएको थियो । नेपाल समाचारपत्रमा यो खवर छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *