सार्वजनिक यातायात चलाउने सरकारको निर्णय मान्दैनौँः यातायात व्यावसायी

काठमाडौं । सरकारले सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेलगत्तै सार्वजनिक यातायात केन्द्रीय महासंघले यथास्थितिमा सार्वजनिक सवारीका साधानहरु नचलाउने बताएका छन् ।

महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी यथास्थितिमा यातायात सञ्चालन गर्न नसक्ने भन्दै पाँचबुँदे मागसमेत अघि सारेको छ । सरकारले पूर्व तयारीविना सार्वजनिक यातायात सञ्चालन गर्न भनेर अव्यवहारिक र खतरनाक कदम चालेको महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले बताएका छन् । आफूहरुलाई हचुवाका भरमा यातायात सञ्चालन गर्न भनिएको बताउँदै अधिकारीले भने, ‘हामी गाडी चलाउँदैनौं, सरकारलाई चाबी बुझाउँछौं ।’

आफूहरुले अघि सारेको पाँचबुँदे माग पूरा भएपछि मात्र गाडी चलाउन सकिने महासंघका महासचिव भरत नेपालले बताए । महासंघको मागमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार यातायात मजदुर र आम यात्रुहरुको स्वास्थ्यलाई दृष्टिगत गरी सम्पूर्ण व्यवस्था हुनुपर्ने, बैंक किस्ता तथा ब्याजमा पुनर्तालिकीकरण हुनुपर्ने, कागज पत्र, कर राजश्वमा बन्दाबन्दी अवस्थाको कर छुट हुनुपर्ने, बन्दाबन्दीको अवस्थाको बिमा प्रिमियम छुट समयावधि समायोजनलगायत उल्लेख गरिएको छ ।

महासंघका मागमा २०७७ आश्विन मसान्तसम्म बैंक किस्ता नलाग्ने व्यवस्था हुनुपर्ने, बन्दबन्दी अवधिको कर छुटका साथै एक वर्षसम्म जरिवाना नलाग्नेगरी म्याद थप हुनुपर्ने लगायतका रहेका छन् । साथै सरकारले तोकेबमोजिम विभिन्न प्रकृतिका ९ साना, ठूला, मझौला सवारी साधनको सिट मापदण्ड बमोजिम यात्रु राखी सञ्चालन गर्न नसकिने महासंघले जनाएको छ ।

पाँचबुँदे माग पुरा नभए यातायात व्यवसायीको लगानीको वचत पत्र व्यवसायीलाई दिई बाँकी बैंक ऋण जिम्मा लिन र आफ्नो सवारीलाई राष्ट्रियकरण गर्नुपर्ने महासंघले माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *