काठमाडौं । संक्रमित जिल्लाबाट विभिन्न भित्रि बाटो हुँदै हजारौं व्यक्तिहरु काठमाडौं आइरहेका छन् । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छैन । काठमाडौं उपत्यकाका अधिकांश अस्पतालमा उपचार तथा शल्यक्रिया गर्नुपूर्व पीसीआर टेस्ट गर्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । काठमाडौंका हरेकजसो ठाउँमा फाट्टफुट्ट संक्रमित देखिन थालेका छन् ।
ट्राभल हिस्ट्री तथा कन्ट्याक्ट हिस्ट्री नभएका बालबालिकादेखि सबै उमेरका व्यक्तिमा संक्रमण पाइएको छ । दर्जनौं स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ । विदेशबाट चार्टर फ्ल्याइटमा आइरहेका व्यक्तिलाई अनिबार्य रुपमा क्वारेन्टाइनमा राखिएको छैन । जसले गर्दा उनीहरु घरमा पुगेपछि संक्रमित देखिएका छन् ।
बजारमा भीडभाड गर्ने, व्यक्तिगत दुरी कायम गर्ने, मास्क लगाउने जस्ता सुरक्षाविधिको अनुगमन र कारबाही गरिएको छैन । सबैभन्दा ठूलो कुरा ४० लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा एकदम न्यून मात्रामा कोरोना टेस्ट गरिएको छ । जति धेरै परीक्षणको दायरा बढायो त्यति धेरै संक्रमितको पहिचान हुन्छ । जति धेरै संक्रमितको पहिचान भयो संक्रमितलाई आइसोलेसनमा राखेपछि त्यति धेरै स्वास्थ्य व्यक्तिलाई कोरोना संक्रमण सर्दैन ।
स्वास्थ्य मन्त्रालय गुणस्तरहीन थोरै सामग्री किनेर अरबौंका बिल बनाउन व्यस्त छ । सरकारलाई कोरोना संक्रमण रोकथामबारे सोंच्नेसम्म फुर्सद छैन । आम नागरिकमा डर तथा सतर्कता हराउँदै गएको छ । सही तरिकाले मास्क लगाउनेको संख्या धेरै कम छ । भौतिक दुरी पटक्कै कायम भएको छैन । सार्वजनिक ठाउँमा जथाभावी प्याच्च थुक्ने बानी उस्तै छ । हात धुने, स्यानिटाइजर प्रयोग गर्ने जस्ता सुरक्षा बिधिलाई झारा टार्ने प्रवृतिको रुपमा स्थापित छ ।
समाधानका उपाय
- उपत्यका शिल गर्ने
- यहाँ आउनुपर्ने बाध्यता भएका व्यक्तिलाई कि पीसीआर टेस्ट गर्ने कि क्वारेन्टाइनमा राख्ने ।
- विदेशबाट नेपाल आएका व्यक्तिहरुलाई अनिवार्यरुपमा पीसीआर टेस्ट गर्ने ।
- संक्रमितलाई आइसोलेसनमा राख्ने, नेगेटिभ रिपोर्ट आए घर पठाउने अनि होम क्वारेन्टाइनमा राख्ने ।
- सही तरिकाले मास्क लगाउने ।
- व्यक्तिगत दुरी कायम गर्ने ।
- भीडभाड नगर्ने जस्ता उपायलाई अनुगमन र जरिवाना गर्ने ।
- बैंक, कर कार्यालय, वडा कार्यालय, यातायात कार्यालय, मालपोत, अस्पताल आदि ठाउँमा समय लिएर मात्र सेवा लिने र दिने ।
- अनलाइन प्रविधिलाई सकेसम्म बिस्तार गर्ने ।
- ग्राहकलाई प्रशिक्षित गर्ने ।
- टेलिमेडिसिन बिस्तार गर्ने ।
- यस्तो बिपद् पनि अनियमित काम गर्ने तथा आफ्नो जिम्मेवारी बहन नगर्ने पदाधिकारीलाई पदमुक्त गर्न दवाव दिन कानुनी कारबाहीको लागि नागरिकले पहल गर्ने ।
- प्रत्येक वडा कार्यालय, नगरपालिका, महानगरपालिका, सांसद, अस्पताल, स्वास्थ्य मन्त्रालय तथा सरकारलाई दवाव दिएर पीसीआर टेस्ट को दायरा बढाउन जनताले पहल गर्ने ।
- पुलिंग मेथोड़बाट टेस्ट गर्न दवाव दिने ।
- नीजि प्रयोगशालामा पीसीआर टेस्ट गर्न दवाव दिने ।
- तरकारी बजारदेखि भीडभाडमा किनमेल गर्न नजाने ।
- नागरिक आफैले सुरक्षाबिधि अपनाउने ।
- जेष्ठ नागरिक तथा दीर्घ बिरामीलाई घरभित्र पनि आइसोलेसनमा राख्ने ।